पाँचथर । बुधबारबाट पाँचथरका युवाहरुले भ्रमण वर्ष–२०२० सफल बनाउन् पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यात्रा सुरु गरेका छन् ।
पाँचथरको सदरमुकाम फिदिमबाट सुरु भएको मोटरसाइकल यात्रा मध्यपहाडी लोकमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटमा पुगेर सम्पन्न हुनेछ । ‘नेपाल यात्रा २०७६’को टोली मध्यपहाडी लोकमार्गको सुरु विन्दू पाँचथरकै चिवाभञ्ज्याङमा सुरु भएको छ । टोली आज तेह्रथुम हुँदै पश्चिम तर्फ लागेको छ ।
पाँचथरका विभिन्न क्षेत्रमा आवद्ध ११ जना युवाहरुको सम्लग्नतामा मोटरसाइकल यात्रा सुरु भएको हो । उक्त टोलीका अगुवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले गरेका छन् । नेम्बाङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मध्यपहाडी लोकमार्गको मोटरसाइकल यात्रा सुरु गरिएको जानकारी दिए । मध्यपहाडी लोकमार्गले छुने २३ वटा पहाडी जिल्लाका करीब २१५ वस्तीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय लगायत समग्र पक्षको प्रचार गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको नेता नेम्बाङले बताए ।
यस्तै निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माणको हालसम्मको अवस्था उजागर गर्ने तथा यस सडकले ल्याएको परिवर्तनको अध्ययन गर्ने उक्त टोलीको लक्ष्य छ । यसैगरी भ्रमणका क्रममा प्रदेश नं. १ का पर्यटकीय स्थलहरुको प्रचार गर्दै प्रदेश नं. १ को भ्रमणको निम्तो दिने, मध्यपहाडी जिल्लाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचार–प्रसार र सञ्चार माध्यमबाट प्रकाशमा ल्याउन सहयोग गरिने भ्रमण टोलीमा रहनुभएका पत्रकार गिरिराज बाँस्कोटाले बताए ।
भ्रमण टोलीले हरेक जिल्लाका सदरमुकाम तथा स्थानीय तहका केन्द्रहरुमा स्थानीय सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरेको छ । उक्त टोली नेकपाका प्रदेश कमिटी सदस्य नेम्वाङ सहित पत्रकारहरु गिरिराज बाँस्कोटा, छवि चापागाँई र दीपक बोहोरा तथा युवा नेताहरु दीपक दुलाल, जलकुमार तामाङ, सुमन लामा, धनकुमार लावती, पविन माखिम, रुपेन्द्र घिसिङ र तुलाराम रिमाल छन् ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पाँचथरबाट सुरु भई सुदूरपश्चिम प्रदेशको वैतडीको झुलाघाटमा पुगेर टुङ्गिएको छ । यस लोकमार्गको कूल लम्बाई १ हजार ७७६ किलोमिटर रहेको छ । छ वटा मोटरसाइकलमा हुने यो यात्रा नेपालकै पहिलो भएको भ्रमण टोलीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया