बझाङसहित देशका बिभिन्न ठाउँमा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । बझाङको उच्च लेकाली भेगमा हिमपात शुरु भएको । हिमपात शुरु भएसँगै उक्त क्षेत्रको जीवन कष्टकर हुन थालेको छ । आज विहान देखि भएको बर्षाका कारण बझाङको उच्च लेकाली भेगमा हिमपात भएको हो ।

जिल्लाको साइपाल, सुर्मा, तल्कोट, छविसपाथिभेरा, थलारा, मष्टा गाउँपालिकाका र बुङगल नगरपालिकाका विभिन्न वडाहरुमा हिमपात भएको छ ।

जिल्लाको हिमाली भागमा हिमपात शुरु भएपछि मानिसहरु आगो बालेर बसेका छन् । साथै जनावरहरुलाई पनि गोठ भित्र सारिएको छ । बझाङमा गत बर्षको तुलनामा यो वर्ष अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । हिमपात सँगैको वर्षाले आज जिल्लाको विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

साथै आज काठमाडौंसहित पूर्वी र पश्चिमका केही जिल्लामा पनि केहि मात्रामा वर्षा भएको छ । जसले गर्दा काठमाडौंमा चिसो थप बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ भने केही स्थानहरुमा हिमपात पनि भइरहेको छ । विशेषगरी पूर्व र पश्चिमी भेगमा पानी परेको छ । भोलि पूर्णरुपमा बदली हुने र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बालबालिकालाई यसरी जोगाउनुस् चिसोबाट

१. जाडोको समयमा बाक्लो र धेरै लुगा लगाइदिनु हुँदैन । बाक्लो लुगा लगाउँदा शरीरबाट पसिना आउँछ र शरीरमा नै सुक्छ । यसकारण बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुनाले अभिभावकले यो कुरामा विचार पुर्याउनु पर्छ ।

२. विहान र वेलुका अन्य समयमा भन्दा बढी चिसो हावा चल्ने भएकोले बालबालिकालाई घर बाहिर, चौरमा, चौतरामा, खेल्न वा हिँडडुलमा निस्कन नदिने।

३. घाममा राख्दा समय समयमा पानी खुवाउने । तर जाडो महिनाभरी राम्ररी उमालेको मनतातो पानी प्रयोग गर्नुहोस् । साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउँदा उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

४. साँझ बिहान खेलेर आएपछि उनीहरुको कपडा परिवर्तन गरिदिनुहोस् र हलुका मोस्चराईज गरिदिनुहोस् ।

५. न्यानो कपडा लगाईदिने । तर बाक्लो कपडा प्रयोग नगरिदिनुहोस् ।

६. मौसमी फलफुल खुवाउनुहोस् तर अत्याधिक चिसो हुने फलफूल नखुवाउनुहोस् । चिसो समयमा फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ ।

७. हिटर बालेर लामो समयसम्म बच्चालाई सेकाउनु हुँदैन । सहज रुपमा हावा आवतजावत गर्ने कोठामा बस्ने, सुत्ने, खेल्ने वातावरण मिलाउनुहोस् ।

८. झोलिलो खानेकुरा खुवाउनुहोस्

९. नवजात शिशुको कपडा समय समयमा फेर्ने, डाईपर लामो समयसम्म एउटै प्रयोग गर्नुहुँदैन ।

१०. कहिलेकाहिँ रुघाखोकीले गर्दा बालबालिकाको नाक टालिने गर्छ । तर भिक्स, सन्चो वा अन्य चिज नलगाउनहोस् बरु नरम कपडा या कपासले सफा गरिदिनुहोस् ।

११.बजारमा किनेको दूधमा अन्य अखाद्य कुरा पनि मिसिएको हुनसक्छ । अभिभावकले यो कुरा मनन गरी राम्ररी तताएर केहि बेर पाक्न दिएर मात्रै दुध आफ्ना बालबालिकालाई पिलाउनुहोस् । याद गर्नुहोस् नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ ।

१२. ६ महिनाभन्दा माथिका बच्चालाई आमाको दूधका साथै तातो झोल पदार्थ खुवाउनुपर्छ ।

१३. जाडोको समयमा बालबालिकाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । ३ देखि ४ दिनको बिचमा मनतातो पानीले घाम लागेको ठाउँमा नुहाएर तौलियाले पुछेर न्यानो कपडा लगाईदिनुहोस् । यसका अलावा बालबालिकालाई स्वस्थ राखि आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?