एजेन्सी । भगवानको उच्चारण गरेपछि सबै दुःख नष्ट हुने विश्वास गरिन्छ । त्रेता युगमा भगवान रामको जन्म भएको थियो भन्ने कुरा पुराण तथा धर्म शास्त्रहरुमा उल्लेख छ ।
रामायणमा रामभक्त हनुमानले पनि हरेक काम गर्दा श्रीरामको नाम जप्ने गर्दथे । उनी अनवरत रुपमा जुन सुकै काम गर्दा पनि भगवानकै नाम लिने गर्थे ।
भगवान श्रीरामको नाम जप्दा हनुमानलाई कुनै पनि शस्त्रअस्त्रले छुन सक्दैनथ्यो भन्ने पुराणमा उल्लेख छ।
थुप्रै रोचक कथा र प्रसङ्गहरू समेटिएको हिन्दु धर्मको पवित्र ग्रन्थ रामायणमा भक्त र भक्तिबीचको कुरा बताउन खोजिएको छ ।
रामायणमा हनुमानलाई भगवान रामले मृत्युदण्ड दिएको प्रसंग सायदैलाई मात्र थाहा होला । आफ्ना प्यारा भक्त हनुमानलाई आखिर किन रामले मृत्युदण्ड दिए त ? यो अनौठो प्रसंग छ ।
रामका पिता दशरथले कैकेयीको बन्धनमा परेर रामलाई १४ वर्षको बनबास पठाएका थिए । १४ वर्षको बनबास सजाय भोगेर उनी पुनः राजा बनेका थिए ।
राजा बनेपछि उनले राजसभा बोलाएर नजिकका राज्यहरुमा राजा बनेको उपलक्ष्यमा भोजको आयोजना गरेका थिए । त्यहाँ देवीदेवताहरु देखि साधुसन्त र आसपास राज्यका राजाहरु आउने क्रम जारी रहेको थियो ।
त्यतिबेला, ऋषि नारदमुनिले हनुमानलाई पूर्व राजा विश्वामित्रबाहेक अरू सबै सन्तमहाजनलाई प्रणाम गर्नु भनेर आज्ञा दिएका थिए ।
हनुमानले ऋषिको कुरा मानेर उनले दिएको आदेशलाई पालना गरे । नारदले भनेजस्तै गरि हनुमानले पनि विश्वामित्रलाई प्रणाम गरेनन् ।
नारदमुनि जब विश्वामित्रलाई भेट्न गए, तब विश्वामित्र असाध्यै क्रोधित भए । विश्वामित्रले रामलाई हनुमानलाई मृत्युदण्डको सजाय दिन आदेश दिए ।
रामले ऋषि आदेशलाई नकार्न सकेनन् । र हनुमानलाई आफैले धनुषवाणले हानेर मृत्युदण्ड दिने घोषणा सुनाए।
रामले हनुमानलाई मृत्युदण्ड दिन भन्दै धनुषवाण प्रहार गर्न थाले । तर रामको नाम जपिरहेका हनुमानलाई धनुषवाणले केहि असर गर्न सकेन ।
गुरुको आदेश पालना गर्नुपर्ने भएकाले रामले हनुमानलाई ब्रह्मास्त्र प्रहार गर्न लागे । सबैभन्दा शक्तिशाली हतियार ब्रह्मास्त्रले पनि हनुमानलाई केहि असर गरेन ।
भगवान रामको नाम जपिरहेका हनुमानलाई कुनै शस्त्र अस्त्रले पनि केहि गर्न नसकेपछि नारदले आफ्नो गल्ती स्वीकारेर विश्वामित्रसँग माफी मागेका थिए र मृत्युदण्डको निर्णयलाई फिर्ता लिन भगवान श्रीरामसँग आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया