घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

गङ्गा पराजुली /पशुपतिनगर । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो ।

वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ ।

छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ पोखरीले अझ मन प्रफुल्लित बनाउँछ ।

सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापु विश्वभरका पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले पर्यटकलाई फेरि अर्कोपटक आउँआउँ बनाउँछ ।

छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ ।

छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे छिन्टापु पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । प्रदेश नम्बर १ सरकारको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनुभयो । हिमाली दृश्यमा मज्जाले रमाउन सकिने छिन्टापुमा पर्यटक पु¥याउनका लागि चालु आर्थिक वर्षमा पनि रु २० लाख बजेट विनियोजन भएको छ ।

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ (टावर) झैँ उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्लो डाँडोमा पुग्दा मन फुरुङ्ङ बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकका लागि पूर्वाधार निर्माणले प्राथमिकता पाएको प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुले बताए । “पर्यटकहरु जाँदा खाने र बस्ने आफैँ बोकेर जानुपर्ने बाध्यता छिन्टापुमा छ”, लिम्बुले भन्नुभयो, “प्रदेश सरकारको पहलमा पदमार्ग, सडक र अन्य पूर्वाधार निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) गर्नेसम्मको तयारी भइरहेको छ ।”

पर्यटकीय पूर्वाधार निर्माणमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाले पनि पहल गरिरहेको छ । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको डिपिआर गर्ने काम सकिएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताए।

इलामका सबैभन्दा धेरै सीमसार र पोखरीहरु रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोटहरु रहेका छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गुराँसका फूलहरुमा घण्टौँसम्म रम्ने भएकाले यहाँ पुग्नेले गुराँसको राजधानीको परिचय दिँदै आएका छन् ।

लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छिन्टापु पर्यटकीय केन्द्र बनाउन पूर्वाधार निर्माणमा जोड दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । “पूर्वाधार निर्माणका लागि अहिले स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म पर्यटकीय पूर्वाधारको प्रस्ताव गरिएको छ”, राईले बताए, “छिन्टापुको विकासका लागि पहिला डिपिआर बनाउने योजनामा गाउँपालिका रहेको छ ।”

छिन्टापुमा बस्नका लागि व्यवस्थित होटलहरु निर्माण नभए पनि ग्रामीण बस्तीहरुमा होमस्टे (घरबास) निर्माण गरिएको वडाध्यक्ष गिरिराज खनालले बताए । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा स्थानीय जातका कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कार गरिँदै आएको छ । छिन्टापुको यात्रामा जाँदा माईमझुवाको बुधबारे, कमेरे, मितेरे चोक र फेमेगुरु क्षेत्रमा होमस्टे सञ्चालनमा रहेको वडाध्यक्ष खनालको भनाइ छ ।

छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । पुर्व–पश्चिम राजमार्गको झापाको चारआलीबाट मेचीराजमार्ग समातेर ७५ किलोमिटर यात्रा गरेपछि इलाम सदरमुकाम पुगिन्छ । इलाम सदरमुकाममा बास बस्नका लागि व्यवस्थित होटल र लज छन् । इलाम बजारबाट चार किलोमिटरको यात्रामा बिब्ल्याँटे बजार पुगिन्छ । बिब्ल्याँटे बजारबाट अलिक अगाडि बढेपछि मेचीराजमार्ग छोडेर उत्तरतर्फ लाग्नुपर्छ । बिब्ल्याँटे बजारबाट १२ किलोमिटर यात्रा गरेपछि रामसार क्षेत्र माईपोखरी पुगिन्छ । माईपोखरी स्न २००८ मा रामसार सूचीमा सूचीकृत भएको पर्यटकीय तथा धार्मिकस्थल हो ।

माईपोखरीको भ्रमणपछि नजिकै सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली हुँदै आठ किलोमिटर यात्रापछि माईमझुवाको बुधबारे बजार पुगिन्छ । त्यहाँबाट झण्डै सात किलोमिटर कच्ची सडक यात्रापछि गोरुवाले बजार पुगिन्छ । गाडीको यात्रा यहीँसम्म मात्र हो । गाडीको यात्रापछि प्राकृतिक टावरमा रहेको छिन्टापु पुग्न झण्डै डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । छिन्टापुको पदयात्राका लागि माईपाखेरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापुसम्म यात्रा गरिन्छ । रु दुई करोड ३८ लाखमा निर्माण हुँदै आएको छिन्टापुबाट गोरुवाले, फुस्रेपोखरी सन्दकपुर हुँदै हाँगेफाम, चोयाटार, ढाप पोखरीसम्मको पदमार्ग प्रयोग गर्न सकिन्छ । यो गदमार्ग चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?