पार्वती सामान्य घरमा जन्मिएकी छोरी हुन् । उनी सानैदेखि नाच्न गाउन खुब मन पराउँथिन् । कसैले ठूलो भएपछी के भन्ने भनेर प्रश्न गर्ने्बित्तिकै उनको मुखबाट फुस्किहाल्थ्यो- म त कलाकार बन्छु । पार्वती घरकी जेठी छोरी हुन् । उनीभन्दा तल २ वटी बहिनी थिए । सानो छँदा सबैकी प्यारी थिइन् पार्वती उनलाई सबैले पारु बनेर बोलाउँथे । पार्वती जन्मिएपछि घरमा लक्ष्मीको आगमन भएको भन्दै घर परिवार सब खुसी थिए । यो खुसी परिवारसामु ३ वर्ष पनि टिकेन । पार्वती साढे २ वर्षकी हुँदा उनकी माहिली बहिनी अप्सरा जन्मिइन् । अप्सरा जन्मिएपछि पार्वती सबैको प्यारी हुन छाडिन् । घरको खुसीमा कमी आउन थाल्यो । उसलाई सुम्सुम्याउने हात बहिनीतिर सरेको थियो ।
पारु ६ वर्षकी हुँदा उनकी कान्छी बहिनी रुकमणिको जन्म भयो । यो पाली उनको परिवारमा खुसी भन्दा ज्यादा निराशा छाएको थियो । पारु बुझ्ने हुन थालिसकेकी थिइन् । उनको बुवा हजुरआमा सबको मुखबाट सुनियो कि- फेरि पनि छोरी ! मर्ने बेलामा दागबत्ती दिने र मरेपछि पिण्ड चढाउने मान्छे पनि नहुने भो ।
पारु त्यति धेरै बुझ्ने भैसकेकी थिइनन् । के भनेको हो उनले मेसो पाउन सकिनन् । कान्छी बहिनी जन्मिएपछि पारु झन् एक्लिएकी थिइन् । उनको भागमा माइली बहिनी हेर्ने जिम्मेवारी थपिएको थियो । कान्छी बहिनी जन्मिएको ११ दिनमा न्वारन गरियो । न्वारानको दिन पण्डितले भनेका थिए ठूली छोरीको दोषले गर्दा घरमा सुपुत्र (छोरा) को जन्म नभएको हो । जेठी छोरीको बिहे नगरेसम्म छोराको जन्म हुँदैन ।
अझ कान्छी बहिनी थपिएपछि झन् पार्वतीलाई कसैले माया नै गर्न छाडे । उनलाई पारु भनेर बोलाउनेहरुले पारे र ठुली भनि बोलाउन थालेका थिए । जुन नाम उसलाई मनै पर्दैनथ्यो । समय बित्दै गयो कान्छी बहिनी ४ वर्षकी भएकी थिइन् भने पारु १० वर्ष पुगिन् । बिहान उठ्ने बहिनी हेर्ने, पढ्ने मात्र नभएर पारुलाई घाँस काट्ने बाख्रा चराउने काम पनि गर्नु पर्थ्यो । अचम्मै घरमा यति धेरै काम गर्दा पनि पारु जहिले प्रथम नै हुन्थिन् । पढाइमा निक्कै अब्बल थिइन् पारु । पढाइमा मात्र नभएर स्कुलमा हुने हरेक क्रियाकलापमा प्रथम नै हुन्थिन् पारु ।
घरमा भन्दा स्कुलमा नै बढी रमाउँथिन् पारु । उनलाई स्कुलमा सबैले औधि माया गर्थे । सर मिसहरुको अत्यन्तै प्यारी थिइन् पारु । घरमा कसैले माया नगरे पनि स्कुलमा सबैले माया गर्थे । अन्जली मिसको सबैभन्दा प्यारी थिइन् पारु ।
स्कुलमा हुने हरेक कार्यक्रममा भाग लिन्थी पारु अनि जहिल्यै प्रथम पुरस्कार आफ्नै पोल्टामा पार्थिन । एकदिन स्कुलमा गायन प्रतियोगिता भएको थियो । त्यस दिन पनि पारु नै प्रथम भईन् । उनले पुरस्कार पनि पाइन् । कार्यक्रम सकिएपछि उनि हतारहतार घर पुगिन् । उनलाई देखाउनु थियो आफु प्रथम भएर पुरस्कार पाएको कुरा । अनि उनि चाहन्थिन् आफ्नो बुवा आमालाई खुसी बनाउँ । ११ वर्षकी उनि अलिअलि बुझ्ने पनि भैसकेकी थिइन् । उनि कक्षा ६ मा पढ्ने भैसकेकी थिइन् । हतारमा घर पुगेकी आमा बुवालाई पुरस्कार देखाउँदै भनि
आमा ! आज मैले गीत गाएर पुरस्कार जिते नि ।
उनको आमा त्यति खुसी भइनन्, छोरी मान्छे भएर गीत गाउँदै नाच्दै हिड्नु हुँदैन, समाजले उत्ताउली भई भन्छन् ।
पारुको हजुरआमालाई झन् पारुको यो चालढाल फिटिक्कै मन पर्दैनथ्यो ।
आँखा ठुलाठुला पार्दै चर्को स्वरमा भनिहालिन्, “ठुलो प्रगति गर्नुभएछ महारानीले“
बिचरी पारु के बोलोस् चुप लागिन् मात्र
हजुरआमाले थपि हालिन् ’छोरी मान्छे भएर पनि कति उताउली भएकी यस्तै भयो भने भोलि बिहे गरेर कसले पो लैजाला यसलाई ’
पारु न्याउरो मुख लगाइन् मात्र । केहि बोलिन् । चुप भित्र गईन अनि सुक्कसुक्क रोइमात्र रहिन्। ‘ ! उसलाई भन्न मन थियो आमा र हजुरआमालाई तपाई पनि छोरी मान्छे नै त होनी किन बुझ्नुहुन्न भनेर । तर उनकी आमाले पटक पटक भनेकी थिइन् छोरी मान्छे भएर ठुलो मान्छेसँग मुखमुखै लाग्नु हुन्न । पारु मनमनै प्रश्न गर्थिन्, छोरी मान्छेले किन बोल्नु हुँदैन ? पारुको सपना थियो ठुलो कलाकार बन्ने धेरै पढ्ने अनि राम्रो जागिर खाने । उसलाई भन्न मन थियो म धेरै पढेर ठुलो मान्छे बन्छु । तर कसरी भनोस् पारुले ? बोल्न कसैले दिदैँनथे बोले पनि सुन्दैँनथे ।
उनलाई बाबा आमाले त्यति धेरै माया गर्दैनथे । उनी अलच्छिना भएकोले घरमा छोरा नजन्मिएको बाबुआमाको ठम्याई थियो । पारुको बिहे गर्दिने बित्तिक्कै छोरा जन्मने पण्डितको सल्लाह थियो । अन्तत रजस्वला हुने बित्तिकै पारुको बिहे गर्दिने सोचमा पुगे उनका बाबुआमा ।
आजभन्दा भोलीभन्दा पारु पनि हलक्कै बढी । पारु १४ वर्षमा टेकिसकेकी थिइन् । दिदीबहिनीमा सबैभन्दा राम्री हँसिली पारु हरेक कुरामा अब्बल थिइन् । उनी कक्षा आठमा पढ्ने भइसकेकी थिइन् । कक्षा आठको ठुलो जाँच (अन्तिम परीक्षा) सुरु भइसकेको थियो । पाचौं दिन परीक्षा थियो ।
पारु सदा जस्तो जोसिलो थिइन् आज । उनको पेट पनि दुखेको थियो । ज्यान पनि सबै दुखेको थियो । ऊनी सदा जस्तो हँसिलो पनि थिइन् । घरमा जति काम गर्न परे पनि हाँसी हाँसी नै गर्थी पारु । आज उनलाई त्यति जाँगर चलेन । खाना बनाई अनि खाएर स्कुल गइन् । परीक्षा दिँदा पनि हसहज गरिरहेकी थिइन् पारु । परीक्षा सकिनै लागेको थियो । पारुले आफू बसेको ठाउँमा चिसो महसुस गरिन् । के भयो होला भनेर ऊनी मनमनै डर मानिन् । तर परीक्षा थियो त्यता मन नपुर्याई फटाफट लेख्दै थिइन् पारु । त्यस दिन परिक्षामा उनलाई सबैभन्दा माया गर्ने अन्जली मिस गार्ड परेकी थिइन् । परिक्षा सकिएको जनाउ गर्दै घन्टी बज्यो । सबैले कपी बुझाए । पारुले पनि बुझाइन् । तर किन हो उनलाई उठ्नै मन लागेन । सबै साथीहरु परिक्षा हलबाट बाहिरिसकेका थिए । तर पारु बसिरहिन । अन्जली मिस कक्षा भित्रै थिइन् । पारु त्यहि बसिरहेको देखेर सोधिन् :
पारु के भयो ? किन यहि बसेको ?
पारु बोलिन् बर्रर आशु झारिन् मात्र । अन्जली मिस पनि पार्वतीकै गाउँको हुन् । उनलाई थाहा थियो पारुलाई सबैले हेला गर्छन् भनेर ।
किन नबोलेकी के भयो ? घरमा आज पनि गालि गरे हो ?
पारुलाई अगाडी नै थाहा थियो ऊनी बसेको ठाउँ रगतले भिजेको थियो । अनि कपडा पनि । रजस्वला अर्थात महिनावारीबारे पारुलाई अलिअलि थाहा त थियो । तर उनले आफू महिनावारी भएको भनेर विश्वास गर्न सकेकी थिइन् । उनलाई डर लागिरहेको थियो ।
उनि बसेको ठाउँबाट बिस्तारै उठिन् । र मिसलाई रुँदै भनिन्, मिस मेरो खुन बगिरहेछ के भयो यस्तो ?
अन्जलीले पार्वतीलाई सम्झाउँदै भनिन्, नआत्त पारु तिमी तीमि महिनावारी भएछौ ।
पार्वती झन् रुन थाली । यतिबेलासम्म पारुको मिल्ने साथी रेनुका पनि त्यहाँ पुगिसकेकी थिइन् । रेनुका यसअगाडी नै महिनावारी भैसकेकी थिइन् । उनलाई सबै थाहा थियो त्यसबारे । पारु बसेको बेञ्चभरी रगत लागेको थियो । रेनुकाले बाहिरबाट एक मुठी बालुवा ल्याइन् र रगत लागेको ठाउँमा राखिन् त्यसपछि उनले खुट्टाले बेस्सरी रगडिन् । बेन्चको रगत त पुछियो तर पारुको लुगामा लागेको रगत बाँकी नै थियो । यसमा अन्जली मिसले सहयोग गरिन् । उनले आफुले लागेको सल पारुको कम्मरमा बाधीदिइन् । र भनिन्, ’चिन्ता नगर पारु अब केहि हुन्न घर जाऊ ।’
खुन बगि नै रहेको थियो त्यसैले पारुले हिड्न अप्ठ्यारो मानिन् । रेनुकाले रुमाल ल्याएकी रहेछी उसले रुमाल पट्याई र पार्वतीलाई दिइन् ।
’ ला यो मिलाएर राख ।’ रेनुका र अन्जली कक्षाकोठाबाट बाहिर निस्किए । र ढोका लगाइदिए । केहि बेरमा पारु पनि बाहिर निस्किईन् तर रुन्छी अनुहारमा ।
अन्जली मिसले भनिन्, ’ल अब घर जाऊ । रेनु आज पारुलाई घर पुर्याइदेउ है ।’ रेनुकालाई सबैले रेनु भनेर बोलाउँथे । रेनुकाले हुन्छ भावमा अन्जली मिसलाई हेर्दै टाउको हल्लाई । यसपटक उनीहरु जंगलको बाटो भएर घर जाने निर्णय गरे । उनीहरु स्कुलबाट निस्किए र बिस्तारै जंगलको बाटो उकालो लागे स्कुलबाट पारुको घर जान करिब आधा घण्टा लाग्थ्यो । पारु बाटोमा केहि बोलिनन् । रुन्छे अनुहार मात्र लगाइरहिन् । मनमनै सोच्थी घरमा के भन्ने होला ? कसरी भन्ने होला ? गाली पो गर्ने हुन् की ? उनलाई थाहा थियो पहिलोचोटी महिनावारी हुँदा घरमा वस्नु हुँदैन । रेनुका यसअघि नै महिनावारी हुँदा घरमा नबसेर लुक्न गएको उनलाई थाहा थियो ।
उनले रेनुकलाई रुन्छे सोधिन्, रेनु खुन कतिदिन बग्छ ? रेनुकाले भनिन् ४/५ दिन ।
अब म घरमा बस्न हुन्छ त ?
हुँदैन
उनीहरु घर आइपुगे । घर नजिकै आइपुगेपछि पारु पछि र रेनु अघि लागिन् । पारुकी आमा घरैमा रहेछिन् । हजुरआमा बिरामी थिइन् चोटामा नै सुतिरहेकी थिइन् । रेनुकाले भनिन्, काकी काकी रेनुका नछुने भई ।
पारुको आमाले हाँस्दै भनिस होर ?
आमालाई देख्ने बित्तिकै पारु रुन थाली । आमाले खुसी हुँदै भनिन्, ल किन रोएकी नछुने हुँदैमा रुनु पर्छ लाटी । अब तरुनी भईस् तँ ।
तरुनी भन्ने शब्दले पारु झस्किईन्। “योनिबाट खुन बग्दैमा एउटी छोरी तरुनी हुन्छे ?“ पारुले मनमनै प्रश्न गरी, प्रकृति पनि कस्तो पापी एउटी छोरी तरुनी बनाइदिन खुन बगाइदिने“ पारु मनमनै अनेक कुरा सोच्थी ।
हजुरआमा बार्दलीबाट यो सबै हेरिरहेकी थिइन् । बिरामी भए पनि खुसी हुँदै भनिन्, “ल ल अब सामान ठिक पार्दे । अनि रेनुकेको घरमा नै पठाईदे । अब सात दिन घर, बुवाको मुख हेर्नु हुँदैन ।“
पारु एक मनले अलि खुसी पनि भै अनि एक मनले दु:खी पनि । उनि आफ्नो मिल्ने साथीसँगै जान पाउने भइ यसमा खुसी थि । अनि सात दिनसम्म अर्काको घर बस्नुपर्ने भयो । यसमा दु:खी पनि थिइन् । पारुको आमा उसको सामान ठिक पार्नतिर लागिन् । हजुरआमा मख्ख परेर बार्दलीबाट हेरिरहिन् ।
’अहो ! कति खुसीको भएकी यो बुढी’ पारुले मनमनै गाली मन गरिन् । साच्चै पारुले आमा र हजुरआमालाई एकदमै खुसि देखिन् । सायद यसअघि यस्तो खुसि कहिल्यै देखेकी थिईनन् । हजुरआमाले त झन् अलाच्छिना भन्दै पारुलाई देखि सहदैनथिन् ।
पारुको आमाले एकै छिनमा कुम्लो ठिक पार्दिन् । पारुको किताब, लुगा अनि साथमा केहि थान टालो पनि । अब सात दिनसम्म घरको धुरी समेत हेर्न नहुने भयो पारुले । उनलाई जोडजोडले रुन मन लाग्यो तर रोइनन् ।
पारुको घरबाट रेनुकाको घर पुग्न १० मिनेट लाग्थ्यो पारु कुम्लो बोकेर पराइ झैँ आफ्नो घरबाट निस्की । उनलाई पुर्याउन उनकी आमा पनि पछि लागिन् । पारु हिड्न अप्ठ्यारो मानिरहेकी थिइन् । सदा १० मिनेट लाग्ने रेनुको घर पुग्न २० मिनेट लाग्यो, उनीहरुलाई । रेनुकाको आमा फुलमाया घरमै रहिछिन् । रेनुका ढिला आएको देखेर सोधिन्, “गाउँका सबैजना अघि नै आइसके त किन ढिला आएकी ?“ रेनुकाले सबै कुरा बताइन् । आँगनमा पारु र पारुको आमाले भनिन्, “अब ७ दिन यसलाई यतै राख्नु पर्यो माहिली । “ माहिली बुहारी भएर होला रेनुकाको आमालाई सबैले माहिली भनि बोलाउँथे ।
’भैहल्छ्नी’ फूलमायाले भनिन् ।
पारुलाई त्यहि छाडेर पारुको आमा घर फर्किन् । फूलमायाले पारुलाई खुब माया गर्थिन् । रेनुकाको घरमा रेनुका र उनकी आमा मात्र थिए । उनकी बाबु र दाजु काठमाडौँ बस्थे । रेनुकालाई आमा, बुवा र दाई सबैले खुब माया गर्थे । पारुलाई सुत्ने ठाउँको व्यवस्था गर्दिन् फूलमायाले । त्यसपछि उनीहरु दुवै जना त्यहि बसेर पढ्न लागे । पारुलाई साथीको घर भएर त्यति अप्ठ्यारो चाहिँ लागेन ।
पारु महिनावारी भएको ७ दिन पुग्यो । उनलाई लिन उनकी आमा आइपुगिन् । सबै सामान ठिक पारेर पारु घर जान ठिक परी । फुलमायासँग बिदा मागिन् । अनि आफ्नो मिल्ने साथीसँग पनि । उनीहरु नौं कक्षामा भेट्ने वाचा गर्दै बिदा भए ।
७ दिनपछि घर पुग्दा पारुलाई बहिनीहरुको खुब न्यास्रो लागेको थियो । पारुको अप्सरा त २ पटकसम्म भेट्न पनि गएकी थिइन् । दिदीलाई देखेपछि अप्सरा र रुकमणि खुब खुसी भए । साथमा हजुरआमा, बुवा, आमा सबै । अहो ! पारु त सेलिब्रेटी झैँ भइ । सबै जना यसरी खुसी भएको देखेर पारु पनि गमक्क परी । हजुरआमा र बुवाले टिका पनि लगाइदिए । अनि केहि पैसा र लुगा पनि दिए । पारु दंग परी अनि मख्ख पनि । सदा ठुली अनि पारे भनेर बोलाउने सबैले उनलाई पारु भनेर भन्न थाले । पारुले सोची सबै जना न्यास्रिएछन् ।
समय बित्दै गयो कक्षा ८ को रिजल्ट पनि आयो फेरी पनि पारु प्रथम नै भईन । रिजल्टको दिन पारु जति खुसी भईन त्योभन्दा दुखि पनि । त्यो दिन उनलाई हेर्न केटा आउँदैछ भन्ने कसैले उसलाई बाटोमै सुनाइदियो । १३ पुगेर भर्खर १४ मा लागेकी थिइन् पारु । केटा आफूभन्दा ६ वर्ष जेठो । पारु भित्रभित्रै डाँको छाडेर रोइ । परिवारले पारुको बिहे त्यहि केटासँग गर्दिने पक्कापक्की गरे । पारु यो प्रतिकार गर्न चाहन्थी । म बिहे गर्दिन पढेर ठुलो मान्छे बन्छु भन्न चाहन्थी आफू फेरी पनि प्रथम हुने प्रण गर्न चाहन्थी । बाबुआमालाई पालेर बस्छु भन्न चाहन्थी । तर सुन्दैनथे पारु खुब रोइ त्यस रात । एक वचन पनि सोधेनन् कसैले त बिहे गर्छेस कि गर्दिनस् भनेर । पारु नछुने भएदेखि खुसी भएको राज पारुले बल्ल बुझी । एक वचन नसोधी त्यो केटासँग टिकाटालो गरिदिए पारुलाई । त्यस रात पारुको आमाले सुमसुम्याउँदै खुब सम्झाइन् पारुलाई । तर पारु कसरी सम्झन सक्थी । ऊ सपना कसरी मार्न सक्थी । आमालाई घरि घरि भन्थी पारु,
“आमा म बिहे गर्दिन । ’ म पढेर ठुलो मान्छे बन्न चाहन्छु “
तैले बिहे गर्नै पर्छ छोरी । तैले बिहे गरिनस् भने भाई जन्मदैन रे ! फेरि हामीलाई मर्नेबेला दागबत्ती र मरिसकेपछि पिण्ड दिने मान्छे पनि त कोहि हुँदैन ।
“अहो ! जन्मिएकी छोरीको सपना जलाएर अन्धविश्वासको खोल ओडेर छोरा जन्माउने सपना ।“ पारुले मनमनै भनि ।
आमा म छु नि ।
म नै तपाईहरुलाई दागबत्ती दिउँला .
म नै तपाईहरुलाई पिण्ड चढाउँला नि आमा । पारुले रुँदै भनिन् ।
हुँदैन छोरी ।
छोरी मान्छे अर्काको घर जाने जात हो ।
छोरी मान्छे त जन्मघरको २ दिनको पाहुना हो । पढेर पनि के गर्छेस् र यति त पढिहालिस् । उता पनि पढाइदिन्छु भनेकै छन् ।
आफ्नै बुवा आमाले त बुझेनन् मलाई अरुले के बुझ्थे । पारुले मनमनै भनि
केहि काम नलाग्ने । अर्काकै घर सजाउने, आफ्नो इच्छा भित्रभित्रै मार्नुपर्ने यो कस्तो सजाय हो आमा । अनि यस्तो छोरीलाई किन जन्मा को त । यो पाली खै किन हो पारु झर्की ।
तपाई पनि छोरी नै त हो मलाई तपाई जस्तै बनाउँनु हुन्छ । म ठुलो मान्छे भएको मन पर्दैन तपाईलाई ?
छोरी मान्छेले अर्काको घरको भित्तो टाल्ने बाहेक अरु के गर्न सक्छ र छोरी ।
छोरी मान्छेले ठुलो सपना देख्नु हुन्न ।
छोरी मान्छेले आफ्नो होइन अर्काको सपना पुरा गर्नुपर्छ ।
अब सुत छोरी । रात छिप्पिसक्यो ।
यति भनेर पारुको आमा ओछ्यानतिर लागिन् । बिचरी पारु के निदाउँन सक्थी । मनमा अनेक कुरा खेल्थ्यो । उनलाई पछुतो थियो छोरी भएर जन्मेकोमा, सपना देखेकोमा । पारुले स्कुल सम्झी अनि मिल्ने साथी रेनुका सम्झी । आफुले गीत गाएर पुरस्कार पाएको सम्झी, प्रथम हुँदाको क्षण सम्झी, अन्जली मिस सम्झी आफूलाई मायाँ गर्ने सरहरू सम्झी । झन् रुन मन लाग्यो । उनको रात हिक्कहिक्क गर्दै बित्यो । सबै मस्त निद्रामा थिए पारु निदाउँन सकिन । खै किन हो किन आज उनलाई बाँच्नै मन लागेन । उनी जुरुक्क उठिन र गहभरि भरिएको आशु पुछिन् । हतारमा तल ओर्लिन् । दलिनमा घाँस बोक्ने नाम्लो राखिएको थियो । त्यो समाइन् र घर छेउको भोगटेको रुखमा पुगी । फेरी उसले आफ्नी प्यारी २ बहिनी सम्झी । जसलाई पारु खुब माया गर्थी ।
उसले फेरि हुर्कदै गरेकी अप्सरालाई सम्झी । यदि म मरे भने अप्सराको पनि छिट्टै बेहे गर्दिछन् । मैले मर्नु हुँदैन । पारुले मनमनै भनि । उनी नाम्लो लिएर फर्किन् । अप्सराको मायाले पारुको ज्यान जोगियो । उनि बिहे गर्न राजी भइ । तर उनि रातभर निदाउँन सकिन । रोएर नै रात बित्यो पारुको ।
भोलिपल्ट बिहान सबै उठिसकेका थिए पारु ढिला उठिन् । सदा छिटो उठेर घरधन्दा भ्याउने पारु आज सबैभन्दा ढिला उठिन् । केहि काम गर्ने जाँगर चलेन उनलाई । एक कान दुईकान हुँदै पारुको बिहेको हल्ला गाउँभरी फैलियो । यो कुरा रेनुका को घरमा पनि पुग्यो । कस्ता पापी होलान् त्यति सानै उमेरमा छोरीको बिहे गर्दिन लागेका । कति राम्रो पढ्थी बिचरी पारु । फ”लमाया एकचोटी बर्रबराइन् । रेनुका पनि यो सुनेर निकै भावुक भईन् । उसको मिल्ने साथी छुट्दै थिइन् ।
स्कुल खुलिसकेको थियो । पारुको घर हुँदै जानेहरु धेरै थिए । यो देखेर खुब रुन मन लाग्थ्यो पारुलाई । कसै कसैले त जिस्काईपनि हाल्थे । बेहुली नानी के छ खबर ! यो सुनेर पारुलाई झनक्क रिस पनि उठ्थ्यो । फेरी सम्झिन्थी यिनीहरुको के दोष ? बाबुआमादेखि फेरी रिसाउथी पारु ।
दिन बित्न के समय लाग्थ्यो ? पारुको बिहेको दिन आयो । इष्ट मित्र, आफन्त सब आइसकेका । पारुलाई सिंगार्न उनको फूपुलाई खटाइएको थियो । उसै त राम्री पार्वती शृंगारमा खुब राम्री देखिएकी थिइन् । सबै आफ्नै काममा व्यस्त । पण्डित बा मन्त्र पढ्नमा व्यस्त, छिमेकीको ध्यान मासु र पुलाउमा अड्किएको थियो । जन्तीको ध्यान दाइजोमा सोझिएको थियो । छिमेकका केहि कुरौटेहरुको आँखा पारुको गहनातिर थियो । कोहि आफुले लगाएका गहना, सारी लरकलरक लर्काउँदै यताउति डुलिरहेका थिए ।
कन्यादान पनि सकियो । कन्यादान दिँदै पारुको बुवाले भने, “ल हजुर आजबाट छोरी तपाईको जिम्मा लगाएँ, पाले पुण्य, मारे पाप ।“ यो सुनेर पारुलाई झनक्क रिस उठ्यो । उसलाई आफू भेडाबाख्रा झैँ लाग्यो । आफू बेचिएको झैँ लाग्यो । मनमनै गाली पनि गरिन् “ मेरो सपना मार्ने तिमीलाई लाग्नु पर्ने हो पाप ।’
पारुको सिउँदो पनि रंगियो । अघिसम्म छोरी मात्रै थिइन् पारु । अब कसैको श्रीमती भई, कसैको बुहारी भई, कसैको देउरानी भई, कसैको जेठानी भई, कसैकी भाउजू भई । अब पार्वती थापाबाट पण्डित भई । घर बदलियो, थर बदलियो । पारुले मनमनै सोची, छोरी मान्छेको आफ्नो भन्नु आखीर के रहेछ र सपना अर्काकै, घर अर्काकै, थर अर्काकै, रहर अर्काकै । मन भारी भएको थियो । कसैसँग बोल्नै मन थिएन । पुरेतले पढेको मन्त्रदेखी नि झर्को लगेको थियो पार्वतीलाई । बिहे सकियो । आफ्नो बिहे सानैमा भए पनि बहिनीको नहोस् भन्दै माइतीबाट बिदा हुन लागि पारु । जग्येमा तीन फन्को घुम्ने बेला मनमनै भनिन् । “मेरो अलच्छिना मैसँग जाओस् । घरमा भाइको जन्म होस्, मेरो सपना मेरो बहिनीले पुरा गरोस्। “ हिँड्नै लाग्दा दुई बहिनीलाई अंगालो हालेर बेस्सरी रोइन् पारु । रुँदै रुँदै जन्म घर छाडिन् पारुले । जन्मेको, खेलेको, हुर्केको सबै चिज छाडी पारुले, सम्झी यहि रहेछ छोरीको कर्म !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया