को बन्ला धितोपत्र बोर्डको अध्यक्ष ? सिफारिशमा यी ३ नाम

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको लागि प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रस्ताव सोमबार बस्ने मन्त्रीपरिषदको बैंठकमा लैजान लागेका हुन् । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीकाे कार्यकाल गत असोजमा नै सकिएको थियो । कार्कीको कार्यकाल सकिएसँगै बोर्ड अध्यक्ष बिहिन रहेको छ । अध्यक्षको कार्यकाल सकिएपछि बोर्डको दैनिक कार्यसम्पादनको काम भने बोर्डकै वरिष्टतम रहेका परिष्ठनाथ पौड्याललाई जिम्मा दिइएको थियो ।

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि अर्थमन्त्रालयले गत कात्र्तिक २० गते अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो । त्यसै अनुसार अध्यक्ष पदका लागि गत मंसिर ३ गते अर्थमन्त्रालयले एक सूचना सार्वजनिक गर्दै आवेदनको लागि आह्वान गरेको थियो । मन्त्रालयको सूचना अनुसार बोर्डको अध्यक्ष पदका लागि निरज गिरी, नवराज अधिकारी, नगेन्द्र सिजापति, निल सारु मगर, भीष्मराज ढुंगाना, केशव श्रेष्ठ, सिताराम थपलिया तथा डा. बलराम पाठक रहेका थिए ।

उक्त समितिले प्राप्त हुन आएका मध्ये अन्तवार्ता लिई ३ जनाको नाम सिफारिश गरेको थियो । उनीहरुको नाम गत सोमबार ती ३ जनाको नाम छनोट गरिएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ । समितिले भीष्मराज ढुंगाना, निरज गिरी तथा डा केशव श्रेष्ठको नाम छनोट गरि सिफारिश गरेको थियो । मन्त्रीपरिषदले उक्त सिफारिश समितिले छनोट गरिएका नाम मध्येबाट उपयुक्तलाई छनोट गर्ने व्यवस्था रहेको छ ।

छनोटमा परेका ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । अरु भन्दा ढुंगानाको नाम पहिले नै अध्यक्ष बन्न इच्छुक रहेको कुरा सञ्चार माध्ययममा आएको थियो । उनी उच्च राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुको निकटतम मानिन्छन् । त्यसैले पनि उनलाई भावी अध्यक्षको प्रवल सम्भावना भएका व्यक्तिका रुपमा हेरिएको छ । त्यतिमात्र नभई ढुंगाना राष्ट्र बैंकका गभर्नर बन्न समेत इच्छुक रहेका थिए ।

सिफारिसमा परेका अर्का व्यक्ति हुन् डा केशव श्रेष्ठ । श्रेष्ठले गैर सरकारी संस्था साथै अन्य दातृ निकायहरुमा आवद्ध रहेका थिए । साथै श्रेष्ठसँग केयर नेपाल तथा प्लान्ट इन्टरनेशनलमा काम गरेको अनुभव रहेको छ ।

बोर्डको अध्यक्ष पदको लागि छनोटमा परेका व्यक्ति हुन् निरज गिरी । उनी बोर्डकै कर्मचारी हुन् । बोर्डमा उनी कार्यकारी निर्देशकका रुपमा कार्यरत रहेका छन् । साथै यस अधि नै अध्यक्ष पदको लागि उनको नाम चर्चामा रहेको थियो । सेयर बजारको नियमकको रुपमा हेरिएको बोर्डको अध्यक्षको कार्यकाल भने ४ चार वर्षको रहने छ ।

लोकपथबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो?

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?