मुक्तिनाथ विकास बैंक १४औं वर्षमा प्रवेश, शाखा उद्घाटनदेखि छात्रवृत्ति वितरणसम्म

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड स्थापनाको १३ वर्ष पुरा गरेको छ । आफ्नो बैंकिङ कारोबार शुरु गरेको १४ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । बैंकले आफ्नो १४ औँ वार्षिकउत्सवको अवसरमा  शाखा कार्यालय उत्घाटन, रक्तदान, सरसफाई तथा सहयोग वितरण साथै अन्य कामहरु गरि मनाएको छ ।

यस अवसरमा बैंकले ललितपुरको भैंसेपाटी, तनँहुको आँबुखैरेनी, काठमाडौंको बत्तिसपुतली, ईलामको इलाम, नुवाकोटको बट्टार, कास्कीको बेगनासताल तथा नदीपुर, लमजुङको बेसीशहर, चितवनको टाँडी, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, धनकुटाको धनकुटा, सुनसरीको दुहवी, पाल्पाको रामपुर, दाङको लमही तथा नवलपुरको गैंडाकोट गरि १८ वटा शाखाको डिजिटल माध्यमद्धारा एकैसाथ उद्घाटन गरेको छ । बैंकले उक्त शाखा कार्यालयहरु केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमद्धारा एकैसाथ गरेका हुन् ।

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढिरहेको साथै अबका दिनहरुमा पनि सेवा सुविधालाई थप चुस्त दुरुस्त बनाउँदै अघि बढने विस्वास व्यक्त गरेका छन् । त्यस्तै विभिन्न माध्ययमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालकहरु, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

यसैक्रममा बैंकले पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामाग्रीहरु पनि वितरण गरेको छ । भने वाग्मती सरसफाई तथा गोदावरीमा सरसफाइ समेत गरेको छ । त्यतिमात्र नभएर बैंकका क्षेत्रीय / शाखा कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम समेत सञ्चालन गरेका थिए । रक्तदान कार्यक्रम काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङको धादिङ बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । बैंकले रक्तदान कार्यक्रमबाट कुल ४३० पोका रगत संकलन गरेको बैंकले जनाएको छ ।

बैंकले यस अवसरमा देशभर रहेका विभिन्न क्षेत्रीय तथा शाखा कार्यालय मार्फत सहयोग समेत गरेको छ । यसै सन्दर्भमा बैंकले विभिन्न विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण गरेको छ । साथै अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्वीन समेत वितरण गरेको छ । त्यस्तै जाडोका कारण तराईका शीत लहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी लगायतका सामाग्री उपलब्ध गराईएको बैंकले जनाएको छ ।

वार्षिकउत्सवका अवसरमा बैंकले विभिन्न कार्यक्रममा लागि ८ लाख बराबरको खर्च भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?