दाहालको नेतृत्वमा बैंकर्स संघकाे कार्यभार ग्रहण, कार्य समितिमा अरु को को ?

काठमाडौं । नेपाल बैंकर्स संघमा नवनिर्वाचित अध्यक्ष भुवन दाहालले पदभार ग्रहण गरेका छन् । संघको ११ औं साधारणसभामा दाहालसहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी एक महिना अघि नै निर्वाचित भएका थिए तर पदभार ग्रहण गरेका थिएनन् । आइतवार पोखरामा एक कार्यक्रमकाबीच उक्त कार्यसमितिले पदभार ग्रहण गरेका हाे ।

संघको नयाँ कार्यसमितिका लागि उपाध्यक्षमा एसबीआई र्बैकका सीईयो अनुकुल रानाभाट निर्वाचित भएका थिए । रानाभाट भने अघिल्लो कार्यकालमा पनि उपाध्यक्ष रहेका थिए । साथै सदस्यहरुमा सिभिल बैंकका सीइयो गोविन्द गुरुङ, माछापुछ्रे बैंकका सीइयो सुमन शर्मा , नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीइयो रमेशराज अर्याल लगायत संघको नयाँ कार्यसमितिमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सनराइज बैंकका सीइयो जनक शर्मा पौडेल, नेपाल बैंकका सीइयो कृष्ण बहादुर कुँवर, मेगा बैंककी सीइयो अनुपमा खुञ्जेली तथा एनएमबी बैंकका सीइयो सुनिल केसी कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनीहरु भने संघको कार्यसमितिमा नयाँ हुन् ।

संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले शनिवार जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?