धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रीपरिषदको निर्णयले ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको हो । गत असोजमा तत्कालिन अध्यक्ष डा. रेबत बहादुर कार्कीको कार्यकाल सकिएसँगै बोर्ड अध्यक्षविहिन भएको थियो । ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका थिए । केही समयअघि मात्र निर्देशक पदबाट अवकाश पाएका ढुंगाना हाल बोर्ड सञ्चालक विज्ञको रुपमा रहेका थिए ।

अध्यक्ष छनोटका लागि भन्दै अर्थ मन्त्रालयले गत कार्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामेश्वर फुँयालको संयोजकत्वमा मन्त्रालयका राजस्व सचिव शिविरकुमार ढुंगाना तथा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्यसहितको छनोट समिति गठन गरेको थियो । साथै गत मंसिर ३ गते मन्त्रालयले सूचना जारी गर्दै आवेदनका लागि आह्वान गरेको थियो । त्यससँगै निरज गिरी, नवराज अधिकारी, नगेन्द्र सिजापति, निल सारु मगर, भीष्मराज ढुंगाना, केशव श्रेष्ठ, सिताराम थपलिया तथा डा। बलराम पाठक लगायतले आफ्नो नाम समितीमा पठाएका थिए ।

उक्त छनोट समितीले अन्तवार्तामार्फत ३ जनाको नाम अन्तिम छनोट गरी सिफारिश गरेको थियो । सिफारिशमा पर्नेमा भीष्मराज ढुंगाना, निरज गिरी तथा डा केशव श्रेष्ठ रहेका थिए । त्यी मध्ये ढुंगानालाई भावी अध्यक्षको लागि प्रवल दावेदारको रुपमा मानिएको थियो ।

नवनियुक्त अध्यक्ष ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारीको निकट मानिएका छन् । त्यसैकारण उनलाई अध्यक्ष नबनाउने दाउमा अर्थमन्त्री खतिवडा रहेका थिए । तर सोमबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई नयाँ अध्यक्षको रुपमा नियुक्त गरेको हो । राष्ट्र बैंकको विदेशी मुद्राको विनिमय विभागमा रहेर काम गर्दा धेरै सुधारका कामहरु भएका थिए । उनकै पहलमा नेपालमा पहिलो पटक हेजिङ फण्डको नियमावली मस्यौदा तयार भइ पारित भएको थियो ।

लोकपथबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो?

एनसेल प्रकरणः मुछिए धितोपत्र बोर्डको अध्यक्ष पदका दावेदार ढुङ्गाना

को बन्ला धितोपत्र बोर्डको अध्यक्ष ? सिफारिशमा यी ३ नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?