उसिनेको अण्डालाई काँचै अवस्थामा फर्काउन सकिने

उसिनेको अण्डालाई पुनः काँचै अवस्थामा फर्काउन सकिएला ? कल्पना गर्नुभएको छ ? वैज्ञानिकहरुले यो सफलता हासिल गरेका छन् । यो प्रक्रिया क्यान्सरको उपचार, जैविक प्रविधि (बायोटेक्नोलोजी) र व्यापक मात्रामा खाद्य उत्पादनमा सहयोगी हुनेछ ।

अमेरिका र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा सञ्चालित अध्ययनका मुख्य लेखक ग्रेगरी वीसलाई उद्धृत गर्दै समाचारपत्र द इन्डिपेन्डेन्टले लेखेको छ, ‘कुखुराको उसिनेको अण्डालाई पहिलेकै अवस्थामा लैजाने तरिका पत्ता लागेकाे छ ।’

उसिनेको अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, जसको बारेमा अहिलेसम्मको मान्यता त्यसलाई उसिन्नुअघिको अवस्थामा लैजान सकिँदैन भन्ने थियो । वैज्ञानिकहरुले अण्डालाई पूर्वस्थितिमा लैजान तथा प्रोटिनलाई अलग अलग गर्ने तरिका पत्ता लगाएका हुन् ।

उसिनेको अण्डालाई फुटाउनको लागि युरियाको प्रयोग गरियो र त्यसपछि त्यसमा एक उच्च क्षमता भएको मेसिन ‘भोर्टेक्स फ्लूड’ उपकरणको प्रयोग गरियो । त्यसपछि प्राटिन आफ्नो पूर्व अवस्थामा फर्कियो । यसरी उसिनेको अण्डा पुनः काँचो अवस्थामा आयो । यो प्रक्रिया क्यान्सरको उपचारमा पनि उपयोगी हुन्छ ।

यो प्रक्रियाद्वारा प्राप्त प्रोटिनको प्रयोगबाट विभिन्न वैज्ञानिक एवम् निर्माण प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि यो प्रक्रियाबाट प्राप्त प्रोटिनले क्यान्सरजस्तो गम्भीर रोगका लागि एन्डीबडीको निर्माण गर्न सक्छ, जुन असाध्यै सस्तो हुन्छ ।

यो अध्ययनको आर्थिक व्यवस्थापन अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ जनरल मेडिकल साइन्सेज तथा अमेरिकाका रिसर्च काउन्सिलद्वारा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?