काठमाडौँ । एक ‘अन्डरवल्र्ड डन’लाई भारतीय प्रहरीले पटनाबाट गिरफ्तार गरेको छ । उनी नेपालबाट भारत पुगेको भारतीय मिडियाले दावी गरेका छन् ।
कुनै समय अन्डरवल्र्ड डन दाउद इब्राहिमका निकट सहयोगी मानिएका एजाज लकडावालालाई मुम्बई प्रहरीले पटनाबाट गिरफ्तार गरेको हो । मुम्बई प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी बिहीबार दिएको हो । प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार अन्डरवल्र्डका अर्का डन छोटा राजनसँग निकट भएपछि दाउदको समूहले सन् २००३ मा एजाजमाथि बैंककमा हमला गरेको थियो । सो हमलामा उनी मारिएको चर्चा भए पनि उनी जीवितै रहेको रहस्य निकै पछि खुलेको थियो ।
सो हमलापछि एजाज क्यानाडा पलायन भए । क्यानाडामा उनी एकपटक गिरफ्तारसमेत भएका थिए । केही दिनमै रिहा भएपछि उनी भूमिगत भएर अन्डरवल्र्डमा सक्रिय भएको बताइन्छ । भारतका विभिन्न सहरमा पछिल्लो समय एजाजको समूहले आफ्नो प्रभाव बढाएको, धम्क्याएर व्यापारीहरुबाट ठूलो परिमाणमा रकम असुली गर्ने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया