पाँचथर । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ स्थित दुई घरमा कारुणिक हत्याकाण्ड भयो । जुन घटना भएको करिव ८ महिना भइसक्यो । उक्त हत्याकाण्डले देशलाई नै स्तव्ध बनायो । घटना सुन्ने जो कसैको पनि अहिले पनि आङ सिरीङ हुने त्यो घटना कहालीलाग्दो छ ।
जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा घरेलु हतियार प्रयोग गरी एकै परिवारको ९ जनाको हत्या भयो । त्यो पनि एकै जनाबाट । तर, विभत्स हत्याकाण्डले अहिले पनि आरुबोटेवासीलाई झस्काइरहन्छ ।
२०७६ साल जेठ ६ गते भएको हत्याकाण्डपछि त्यस घटनाले झस्काइरहने स्थानीयहरु बताउँछन् । साँझ विहान घटनास्थल वरपर एक्लै हिँडडुल गर्ने आँट अझै पनि कसैले नगरेको स्थानीहरु बताउँछन् ।
हत्या भएको बमप्रसाद फियाकको घरमा अहिले फियाककी साईली छोरी बस्दै आएकी छिन् । बमप्रसादको ज्वाई धनराज शेर्माको घर भने अहिले खाली छ ।
धनराजको घर सडकमै भएकाले मानिसहरु समूहमा हिँड्ने गरेका छन् । विद्यार्थीहरु समेत त्यो घर कटुन्जेल त्यहि घरको बाटो समूहमा नै हिड्ने गरेका छन् ।
त्यसबेला ज्वाईको घरमा : वर्ष ३४ को धनराज शेर्मा, ३५ की जस्मिता फियाक, शेर्माकी छोरीहरु वर्ष १२ की युहाना शेर्मा, १० वर्षकी मुना शेर्मा र धनराजको भाइको छोरी वर्ष ८ की ईच्छा शेर्माको हत्या भएको थियो ।
ससुरालीको घरमा : ७५ को बम बहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सि माया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक शेर्मा, बम बहादुर फियाकको नातिनी १० वर्षकी आसे कुमारी फियाक को हत्या भएको थियो ।
त्यो दिन : वर्ष १२ कि सीता खजुम भने घटना हुन थालेपछि हतारिएर भागेकी थिईन् ।
त्यसको भोलिपल्ट : मध्यरातमा घटना भएकोले भोलिपल्ट विहान मात्रै स्थानीय तथा छिमेकीले थाहा पाए ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए ।
घटना थाहा पाउने बित्तिकै हत्याको विषयमा प्रहरीले खोजी सुरु ग-यो ।
घटना थाहा पाएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि प्रहरीको आशंकामा बमबहादुर फियाकका कान्छा ज्वाई मानबहादुर माखिम थियो । प्रहरीले उनको खोजी गर्यो ।
तर घटनामा ट्वीस्ट आयो ।
अर्थात् प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शंका गरेका त्यो परिवारको ज्वाई मानबहादुर माखिम घटना भएको स्थलबाट करिव १० किलोमिटरको दुरीमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला प-यो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले लामो उक्त घटनाको अनुसन्धान गरेको थियो ।
श्रीमती मनकुमारी फियाक शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाईका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।
हत्यामा प्रयोग गरिएको खुकुरी घटनास्थल आसपासबाट प्रहरीले बरामद गरेको थियो । प्रहरीले ८ महिना बितिसक्दा पनि उक्त घटनाको विषयलाई औपचारीक रुपमा घटनाको सत्यतथ्य सार्वजनिक गरेको छैन । हत्यामा प्रयोग भएका सामाग्रीहरु विधिविज्ञान प्रयोगशालामा परिक्षणका लागि राखिएको छ ।
भागेर बाच्न सफल भएकी सिता खजुमको भने प्रदेश १ सरकारले संरक्षण दिएर राखेको छ । उनलाई प्रदेश सरकारले आवास र नि :शुल्क शिक्षाको लागि इटहरीमा रहेको एक विद्यालयमा व्यवस्था गरिदिएको छ ।
स्थानीयको माग स्थायी प्रहरी चौकी
घटना भएको समयदेखिनै स्थानियले सो स्थानमा प्रहरी चौकी स्थापना गनुपर्ने माग राख्दै आएका छन् । प्रहरी चौकी स्थापनाको लागि माग भएपनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो स्थानियले गरेका छन् ।
अहिले उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पाँचथरले अस्थायी रुपमा प्रहरी राखेको छ ।
मिक्लाजुङ–३, को वडा कार्यालयमा अस्थायी प्रहरी राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्थानीयले स्थायी रुपमा प्रहरी चौकी स्थापना हुनुपर्ने माग गर्दै आए पनि हालसम्म स्थायी प्रहरी चौकी स्थापना हुन नसकेको मिक्लाजुङ गाउँपालिका–३, का वडाध्यक्ष हस्तराज फियाकले बताए ।
आफ्नै परिवारको सदस्यले यसरी पारिवारीक नरसंहार गरेको यो घटनाले सिंगो देशको ध्यान खिचेको थियो । मानिसहरु कतिसम्म निर्दयी र क्रुर हुनसक्छन् भन्ने यो एउटा मर्मस्पर्शि उदाहरण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया