भारतले किन बारम्बार प्रतिबन्ध गर्छ नेपाली उत्पादन ? पाम आयल प्रतिबन्धका कारण नेपाली अर्थतन्त्रमा धक्का !

काठमाडौं । भारतले नेपालबाट आयात गर्ने गरिएको प्रशोधित पाम आयलमा प्रतिवन्ध लगाएको छ । वैदेशिक व्यापार सम्बन्धी ऐन १९९२ अन्तर्गत वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाउने निर्णय गरेको हो ।

मंगलवार एक सूचना जारी गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले पाम आयातमा रोक लगाउने निर्णय गरेको जनाएको छ । पाम आयल नेपालको उत्पादन नभएपनि अन्य मूलुकबाट कच्चा पदार्थ ल्याइ भारत लगायतका मूलुकमा निर्यात गर्ने गरेको थियो । नेपालले भारतमा कुल निर्यातको २४ दशमलव २ प्रतिशत बराबरको पाम आयल निर्यात गर्ने गरेको व्यापार तथा निकासी पवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

साथै केन्द्रको तथ्यांक अनुसार पामको निर्यात साढे ९ सय प्रतिशतले बृद्धि भएको छ । तर भारतले पाम आयातमा रोक लगाएसँगै नेपालले गर्ने निकासीमा समेत असर पर्ने देखिन्छ । आफ्नै उत्पादन नभएपनि नेपाली व्यवसायीहरुले मलेशिया तथा इन्डोनेसिया लगायतका मुलुकबाट कच्चा पाम आयात गर्ने गरेका थिए । त्यस्तै नेपालमा कच्चा पामलाई प्रशोधन गरि भारत लगायत अन्य मुलुकहरुमा निकासी भइरहको थियो ।

नेपाल र भारतको व्यापारिक मात्र होईन रोपिटबेटीको सम्बन्ध पनि छ । चाहेर या नचाहेर उ हाम्रो नजिकको छिमेकी पनि हो । तर कहिले नाकाबन्दी, कहिले वस्तु तथा उत्पादन आयातमा रोक लगाइरहेको कुरा जग्जायर नै छ । नजिकको छिमेकीले गर्ने द्वैद व्यवहारले हामी आफै आत्मनिर्भर हुन नसकेको हो कि भन्ने प्रश्नचिन्ह समेत खडा गरेको छ ।

भारतले पछिल्लो समय पाम आयलको आयातमा रोक लगाएसँगै निर्यात व्यापारमा समेत हस आएको छ । भारतले सन् १९९६ मा नेपाललाई निकासी गर्ने वस्तु तथा सेवामा भन्साररहित बजार पहुँच सुविधा दिएको थियो । जसलाई नेपालले अहिलेसम्म नै दिएको सबैभन्दा ठुलो उपलब्धिको रुपमा समेत हेरिएको छ । कुनै वस्तु नेपालकै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन नगरिएपनि नेपालले उत्पादन गरेको प्रमाण चिन्ह भएमा भन्साररहित बजार सुविधा पाउने व्यवस्था प्रदान गरेको थियो । जसका कारण नेपालको निर्यात व्यापार समेत बृद्धि भएको थियो । तर केहि समयपछि भारतले त्यसमा कोटा सिस्टम लागू गरि व्यापारमा समेत नकारात्मक असर सिर्जना भएको थियो ।

नेपालबाट निर्यात हुने वस्तुहरु मध्ये पाम आयललको हिस्सा ठुलो रहेको थियो । अन्य मूलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरि भारतमा निकासी गर्न सक्नु नेपालका लागि ठुलो उपलब्धी हो । तर भारतले लगाएको प्रतिबन्धबाट नेपाली व्यापारमा ३० अर्ब बराबरको व्यापार प्रभावित भएको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा समेत वृृद्धि भएको अर्थमन्त्रालयको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिरसम्म अघिल्लो आर्थिक वर्षको तुलनामा २६ दशमलव ९७ प्रतिशतले निर्यात व्यापारमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । भने हाल निर्यात व्यापारमा वृृद्धि भएको पाइएको छ । जसको सबैभन्दा धेरै निर्यात हुने मूलुकमा भारत नै रहेको छ । चालू आवको यस अवधीमा भारततर्फ ४८ दशमलव ५८ प्रतिशतले व्यापार वृद्धि भएको छ ।

नेपालको निर्यात व्यापार बढ्नुमा पाम आयलको भुमिका महत्वपुर्ण मानिन्छ । चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्ममा भारतमा करिव ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको पाम आयलको निर्यात भएको छ । भने गत वर्ष १० अर्बको मात्र पाम निर्यात भएको थियो । भारतले लगाएको प्रतिबन्धबाट निर्यात व्यापारमा मात्र नभइ अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ४७ अर्ब निर्यात मार्फत आयआर्जन गरिएकोमा यो वर्ष साढे ११ अर्ब रुपैयाँ पाम आयलको निर्यातका कारण मात्र भित्रिएको छ । जसलाई घटाउने हो भने निर्यात व्यापार ह्वात्तै घट्ने देखिन्छ । भारतले पाम तेलको आयातमा प्रतिबन्ध लगाएपनि अन्य मुलुकबाट आयात गर्दा भण्सार महशुल धेरै लाग्ने गर्दछ । तर नेपालबाट आयात गर्दा १० प्रतिशत मात्र भण्सार महसुल लाग्छ । नेपाल तथा भारत दक्षिण एशियाली स्वतन्त व्यापार सम्झौत (साफ्टा) मा आवद्ध भएका कारण पनि निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँच दिएको थियो ।

नेपालले इन्डोनेसिया तथा मलेसियाबाट पाम आयलको कच्चा पदार्थ आयात गरि प्रशोधित तेल भारतमा निर्यात गर्ने गरेको थियो । जसका कारण भन्सार दरको फाइदा उठाएर तत्काल लाभ लिने व्यापारीहरु समेत घाटामा पर्ने अवस्था सिर्जना हुने अवस्था देखा पर्ने देखिन्छ । व्यापारीहरुले पाम आयलको निर्यातमा ३० प्रतिशत भ्याट जोडेर निकासी गनिेगरेको भन्दै फाईदा लिने गरेको थिए । जसमा साना ठुला सबै व्यापारीको संलग्नता रहेको कारण अब उनीहरुको समेत कन्तविजोग पर्ने अनुमान गरिएको छ ।

पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध पछि नेपाली अर्थतन्त्रमा ठुलो असर पर्छ । जसबाट के कस्ता असर पर्छ भन्ने कुराको लागि नेपाल सरकारले अध्ययन शुरु गरेको छ । जसबाट पर्ने असरको बारेमा मुल्यांकन गर्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले सरोकारवालासँग छलफललाई अघि बढाएको छ । भारतले प्रशोधित आयलको आयत गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । जसको व्यवहारिक तथा कानुनी पाटोमा समेत अस्पष्ट रहेको भन्दै मन्त्रालयले छलफललाई अघि बढाइएको जनाएको छ ।

अर्थतन्त्रमा नै धक्का पुग्ने गरि लगाइएको प्रतिबन्धको लागि नेपाल सरकारले कुटनीतिक रुपले पहल गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?