सुल्तानको निधनप्रति गुटेरेसको समवेदना

काठमाडौं । ओमनका सुल्तानको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गहिरो समवेदना व्यक्त गर्नु भएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले शनिबार जानकारी दिएका छन् ।

‘ओमनका सुल्तान काबोस बिनको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गर्दछौं,” गुटर्रेसका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्तिमार्फत बताएका छन् । सुल्तानको नेतृत्व बारे प्रकाश पार्दै उनले सुल्तानले ५० वर्ष ओमनको नेतृत्व गर्दा ओमनलाई समृद्ध र स्थिर मुलुकमा रूपान्तरण गराएको उल्लेख गरेका छन् ।

ओमनका सुल्तान काबोस बिनको ७९ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो । आधुनिक अरबी देशका शासकमध्ये उनी धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गरेका थिए । उनले आफ्नै पितालाई अपदस्त गरेर शासन लिएका थिए । उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गरीरहेका थिए । क्यान्सरकै कारण अहिले उनको निधन भएको बताइएको छ ।

उनी अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उनका नातेदारलाई उत्तराधिकारी तोकिएको छ । पारिवारिक बैठकबाट उनकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ । “हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।

अधिकांश विश्लेषकले काबोसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए । सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?