विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ ।
कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ यूक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो ।
राजदूत रब मकेयरलाई नियन्त्रणमा लिइएको घटनालाई बेलायतले ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ भनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उहाँलाई पक्राउ गरेका बताइएको छ ।
तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया