पाकिस्तानमा हिमपात र वर्षा : मृत्यु हुनेको संख्या ९८ पुग्यो

काठमाडौं । पाकिस्तानमा चार दिनदेखिको वर्षा, हिमपात र हिमपहिरोका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ । अत्यधिक चिसो बढेपछि मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

पाकिस्तान प्रशासित काश्मीरको हिमपहिरोमा घाइते भएकालाई भेट्‍न प्रधानमन्त्री इमरान खान आजाद जम्मु काश्मीरको मुजरफ्‍रवादस्थित अस्पताल पुगेका हुन् । काश्मीरमा मात्र हिमपहिरोमा मृत्यु हुने ६९ जना पुगेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री खानले आजाद जम्मु काश्मीरका मुख्यमन्त्रीसँग हिमपात र हिम पहिरोले पुर्‍याएको क्षति र उद्धारको विवरण लिएका थिए । प्रधानमन्त्री खानले संयुक्त सैन्य अस्पतालमासमेत पुगेका थिए । प्रधानमन्त्री अस्पताल पुग्‍ने भएपछि मिडियालाई पनि अस्पताल प्रवेशमा रोक लगाइएको थियो ।

पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ ।
प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् । देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् ।
हराईरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए ।

काश्मिरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाई छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ ।

उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ ।
खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?