काठमाडौं । धादिङको बेनीघाटस्थित त्रिशूली नदीको झोलुङ्गे पुलबाट परिवारसहित हाम्फालेका विनय लामिछानेको जीवितै उद्धार गरिएको छ । उनको श्रीमती मृत भेटिएकी छिन् भने २ छोरा अझै बपेत्ता छन् ।
कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका काठमाडौं चन्द्रागिरी नगरपालिका ४ का ३५ वर्षीय लामिछानेले बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन्।
उनकी ३० वर्षीया श्रीमती जमुनाको बिहीबार साँझ नै शव फेला परेको थियो। दुई वर्षीय छोरा विजन र छ महिनाका छोरा अझै बेपत्ता रहको प्रहरीले जनाएको छ।
बेनीघाट रोराङ गाउँपालिका बाँदरस्थित त्रिशुली नदीको झोलुंगे पुलबाट उनी श्रीमती र छोरासहित हाम्फालेका थिए । साढे ६ बजे हाम्फालेका विनयलाई दस मिनेटभित्र जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
त्यसको केही समयपछि श्रीमतीको शव नदी किनारमा फेला परेको थियो । तर, दुई नाबालक भने हराइरहेको प्रहरीले जनाएको छ ।
लामिछाने श्रीमती र छोरासहित थानकोटबाट दिउँसो दुई बजे घरपट्टि जुठो परेकाले सानो छोरालाई अन्नप्रासन गराउन नहुने भएकाले उनी परीवारसहित ससुराली हिँडेको प्रारम्भिक अनुसन्धान खुल्न आएको छ । उनको ससुराली गजुरी गाउँपालिका ६ मा रहेको छ ।
उनले व्यापारमा एक वर्षभित्र डेढ करोड रूपैयाँ घाटा भएपछि आफूले आत्महत्या गर्न खोजेको बताएका छन्। प्रहरीका अनुसार उनी अनलाइन व्यापार गर्थे।
प्रहरीका अनुसार उनी आत्महत्या गर्ने मनसायले नै हिँडेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया