सिसी क्यामरामा टेप टाँसेर लाखौं चोरी, ६ घण्टा नबित्दै पक्राउ

काठमाडौं । लाखौं नगद चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गए राति काठमाडौं २६ स्थित बिग मार्टको सेफ खोलेर नगद तथा रिचार्जकार्ड चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चोरी गरेको ६ घण्टा नवितिकनै उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा स्याङ्जा, वालिङ घर भई टोखा १० गणेशस्थानमा बस्ने बर्ष २१ को बिशाल गुरुङ र बागलुङ, तारखोला घर भई टोखा ८ मा बस्ने बर्ष २३ को दिपक पुनलाई पक्राउ गरीएको महानगरीय प्रहरी प्रभाग गोगंबुका प्रमुख सन्तोषकुमार दाहालले जानकारी दिए ।

दाहालका अनुसार उनीहरुले पसलमा रहेको सिसी क्यामरामा टेप टासेर ५ लाख ७ हजार नगद र २४ हजार १ सय को रिचार्ज कार्डसहित ५ लाख ३१ हजार १ सय रुपैयाँ चोरी गरेका थिए ।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?