काठमाडौं । पुराणमा एकादशीको महत्वको बारेमा स्पष्टसँग प्रकाश पारिएको छ । पद्म पुराणका अनुसार माघ महिनाको कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । तिलको नाम जोडिएकोले अन्य एकादशीहरु झैँ यो एकादशीको पनि छुट्टै महत्व छ । षट्को अर्थ छ भन्ने हुन्छ भने तिलाको अर्थ तिल भन्ने हुन्छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको हवन गर्ने, तिलकै भोजन गर्ने र तिल दान गर्नुपर्दछ । षट्तिला एकादशीको व्रत बस्दा जति दाना तिलको प्रयोग गरिन्छ त्यति नै वर्ष स्वर्गमा बास हुने पुराणमा उल्लेख गरिएको छ ।
नारदमूनि ऋषि त्रिलोक भ्रमण गर्ने क्रममा बिष्णुनिवास बैकुण्ठ पुग्नुभयो । बिष्णु भगवानले पनि नारदमूनिलाई श्रद्धापुर्वक स्वागत गर्नुभयो । नारदमूनिले पनि सोही अवसरमा बिष्णुसँग षट्तिला एकादशी व्रतका बारेमा जिज्ञासा राखी सबै कुरा बताउँनुहोस् भन्दा बिष्णुले एकादशी ब्रत र महत्वको कथा सुनाउँनुभयो ।
कथा अनुसार पृथ्वीलोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी बिष्णुको भक्तिभावका साथ पूजा गर्दथिन् । एकदिन ती ब्राम्हणीले बिष्णुको भक्ति स्वरुप एक महिना लामो ब्रत बसिन् । ब्रतको प्रभावले ब्राम्हणी सबै पापबाट मुक्त भई शुद्ध भइन् । तर जीवनमा कहिलै पनि कुनै पनि वस्तु दान गरेकि थिईनन् । सबै पापबाट मुक्त भएपनि अन्न दान नगरेका कारण स्वर्गमा बास पाउँदा केहि न केहि कमि हुने कुराको मनन् गरि अन्न दान गराउन स्वयं बिष्णु भगवान ब्राम्हणीकहाँ भिक्षा माग्न पुग्नुभयो । ब्राम्हणीले बिष्णु भगवानलाई भिक्षा स्वरुप माटोको डल्लो हातमा राखिदिइन् । भिक्षा माग्न जानुभएका बिष्णु त्यहि माटोको डल्लो लिएर जानुभयो ।
एकदिन पृथ्वीलोकबाट ती ब्राम्हणी परलोकधाम भई बिष्णुलोकमा पुगिन् । ब्राम्हणीलाई बिष्णुलोकमा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकी ती ब्राम्हणीले पुन बिष्णुको भक्ति गरिन् । बिष्णु प्रकट भए, त्यसपछि बिष्णु भगवान समक्ष आफु सधै धर्मपरायण भएर पनि किन खाली कुटि मिल्यो भनेर बिष्णु समक्ष जिज्ञासा राख्दा बिष्णुले तिमिले कहिल्यै अन्न दान नगरेको र म आफै भिक्षा माग्न जाँदा माटोको डल्लो दान गरेकी कारण यस्तो भएको बताइदिए । बिष्णुको कुरा सुनेपछि ब्राम्हणी चिन्तित भईन् । ब्राम्हणी चिन्तित भएको देखेर बिष्णु भगवानले भन्नुभयो, देवकन्याहरु तिमीलाई भेट्न आउँनेछन् । त्यस समयमा कुटीको ढोका खोल्नु र देवकन्याले सुनाउँने षट्तिला एकादशीको व्रत सुन्नुु भनि सबै कुरा बताउँनुभयो ।
ब्राम्हणीले पनि बिष्णु भगवानले भनेजस्तो गरिन् । एकदिन देवकन्याहरु आई विधि अनुसार षटतिला एकादशीको ब्रत कसरी गर्ने भनेर बताइदिए । ब्राम्हणीले पनि देवकन्याहरुले भनेजस्तै गरि तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी धेरै थरिका अन्नहरु प्राप्त भयो । बिष्णु भगवानले नारदलाई यसरी षटतिला एकादशी ब्रतको विधि र कथा बताईदिनु भयो । त्यही समयबाट षटतिला एकादशी ब्रतका बेला तिल लगायतका अन्य अन्न दान गरेको खण्डमा बैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
षट्तिला एकादशीका दिन तिल मिश्रित खिचडी पकाई बिष्णुलाई अर्पण गर्नुपर्दछ । रात्री समयमा तिल हातमा लिएर १०८ पटक ’ॐ नमो भगवते बासुदेवाय स्वाहा’ भन्दै मन्त्रोचारण गर्नुपर्दछ । त्यसैगरी बिष्णुलाई अर्पण गर्ने सामानहरुको अभाव भएमा एकसय दाना सुपाडी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको व्रतबाट शरिर शुद्ध हुने तथा धन,दौलत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
ज्यो. दुर्गा प्रसाद भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया