काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अग्नि सापकोटालाई प्रतिनिधि सभाको सभामुखको उमेदवार बनाउने निर्णय गरेसंगै उनी सभामुख बन्ने निश्चित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
संसदमा नेकपाको बहुमत भएकोले सापकोटा सभामुख बन्ने निश्चित छ ।
को हुन् सापकोटा ?
२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।
सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।
०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए ।
०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।
सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया