अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाईने एउटा घटनाभित्र धेरैवटा कारण छन् । कुनै अर्थपूर्ण छन् भने कुनै महत्वपूर्ण छन् र कुनै रहस्यमय पनि छन् । ठूलो विवाद, हठ, अडान र जोडपछि अग्नि सापकोटा राज्यको एक महत्वपूर्ण अंगको प्रमुख हुने भए, तर उनी आफैँमा निर्विवाद अनुहार होइनन् । सर्वोच्च अदालतको संवैधानिक ईजलाशमा मुल्तबी रहेको हत्याको मुद्दामा मुछिएका र द्वन्द्वपीडितले चर्को विरोध गरेका पात्रलाई नै पूर्वमाओवादी अध्यक्ष प्रचण्डले किन सभामुख बनाईछाडे ? सापकोटालाई सभामुख हुनु जति आतुरी थियो, त्यो भन्दा कयौँ गुणा उनलाई सभामुख बनाउन प्रचण्डलाई आतुरी देखियो, किन ?
सभामुख प्रत्याशी पूर्वशिक्षक सापकोटामाथि काभ्रेका अर्जुन लामाको २०६२ बैशाख १६ गते अपहरणपछि हत्या गरेको, लामापत्नी पूर्णिमाया लगायतको किटानी जाहेरी, सो अपहरण र हत्याका मतियार भनिएका सूर्यमान दोङ्, ‘आधारभूत प्रमाण’ र यसअघि सर्वोच्च अदालतले नै मुद्दा फैसला नहुन्जेल हरेक १५ दिनमा निजका गतिविधिहरूको जानकारी गराउनु पर्ने र अदालतले खोजेका बखत उपस्थित हुनुपर्ने शर्तमा उक्त ज्यानमुद्दा हाललाई स्थगित गरेको आदेश जिउँदै छ । सो मुद्दामाथि सर्वोच्च अदालतले माघ २२ गते बुधबार सुनुवाई सुचारु गर्ने भनिएको छ । विषय जति रोचक छ, त्यति नै पेचिलो पनि ।
राज्यको एउटा प्रमुख अंग न्यायपालिकाको सर्वोच्च तहको ईजलाशमा कर्तब्य ज्यान मुद्दाजस्तो जघन्य अपराधको अभियुक्तलाई राज्यको अर्को अंग (संसद) को प्रमुख बनाउनुले के सन्देश जान्छ ? जनताले राज्यलाई कुन रुपमा चिन्ने ? के यो न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको मजाक उडाउने खेलबाड भएन र ? लोकतन्त्रका मूल्य–मान्यता र काईदा–कानूनलाई निर्ममताका साथ लत्याउने खतरनाक चाल भएन कसरी भन्ने ? अपराध वा हिंसालाई स्तुत्य बनाउने बद्नियत, दण्डहिनतालाई प्रश्रय, द्वन्द्वपीडितलाई न्याय दिने कर्तब्यमा सरकार पूरै गैरजिम्मेवार र अराजक भएको यसले पुष्टि गर्दैन र ?
यसअघि २ पटक मन्त्री भईसकेका सापकोटा २०६८ जेठ ६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा बहाल रहेकै अवस्थामा सर्बोच्च अदालतले प्रधानमन्त्री, गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका नाममा उनलाई उक्त मन्त्रीपदबाट किन नहटाउने भन्ने कारण देखाऊ आदेश जारी गरेको थियो । हाल सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग, दुईटा निकाय गठन भएको २ दिनपछि नै सभाममुख उम्मेद्वारको चयन भयो ।
आफैँ द्वन्द्वकालीन मानवताविरोधी अपराधमा मुछिएको व्यक्ति विधि निर्माणकेन्द्रको सर्वोच्च र सर्वसम्मत ओहोदाको अधिकारी हुन्छ भने त्यस्तो संस्थाले द्वन्द्वपीडितलाई न्याय दिलाउने कानून बनाउला भन्ने विश्वास कसरी हुने ?
जनजाति तथा महिला प्रतिनिधित्वको मूल्यमा प्रचण्डको अडान :
सत्तारुढ नेकपाको अध्यक्ष भए पनि मानार्थ अध्यक्षजस्तो भूमिकाहिन भएर बस्नुपरेका प्रचण्डले यसअघि अध्यक्षको कार्यकारी अधिकार पाउन पनि धेरैवटा तिकडम, आक्रोश, नाटक आदि गतिविधि चलाउँदै आएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. ओलीले स्वास्थ्यका कारण आफूमा निहित कार्यकारी अधिकार प्रचण्डलाई सुम्पिएका थिए ।
हाल राज्यका शिर्ष पदहरू– राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका गौँडामा पूर्वएमालेको बर्चश्व रहेको छ । पूर्वएमालेबाट बनेकी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे सबै मापदण्डमा सभामुख हुन योग्य हुँदाहुँदै पनि प्रचण्डले आफ्नै हजुरियालाई राख्न यत्रो आकाश–पाताल जोड्नु पर्ने कारणमा आफ्नो पत्ता साफ हुँदै जाने र प्र.म. ओलीले आफूलाई क्रमशः पाखा लगाउँदै जाने ‘खतरा’ हो ।
सभामुखमा प्रचण्ड आफ्नै विश्वासपात्रलाई राख्न चाहन्थे । त्यसैले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बलिदान चढाएर उनले आफ्ना विश्वासपात्रलाई सो पदमा विराजमान गराउन भएभरको ताकत लगाए । कृष्णबहादुर महराले गत असोज १४ गते सभामुखबाट राजीनामा गरेपछि प्रचण्डले सापकोटालाई सभामुख बनाउने आश्वासन दिएका थिए ।
महरा जुन गल्तीका कारण आज बलात्कारको प्रयास अभियोगबाट थुनामा रहेका छन्, उनको गल्तीलाई विषय बनाएर उनको पखेटा काट्नमा प्रचण्ड स्वयं पनि लागेका थिए । महराले अमेरिकाको ५५ अर्बको सम्झौता रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम्सीसी) सम्बन्धी अनुमोदन प्रस्ताब संसदमा छिर्न नदिएर साँढेदुई महिना टाङ अड्याएर आलटाल गर्नुको पछाडि अरु कुनै कारण नभएर चिनियाँहरूको विश्वास जितेर प्रचण्डलाई उछिन्दै प्रधानमन्त्री हुने उद्योग गरेको रहस्य प्रचण्डलाई राम्ररी थाहा थियो । केही वर्षयता चिनियाँहरू ‘बोलीको निश्चित नभएका अस्थिर’ प्रचण्डमा भन्दा महरामाथि बढी भरोसा गर्न थालेका थिए । यो विश्वास र अविश्वासको ब्यवहारलाई उनले आफ्नै खतराको रुपमा हेरिरहेका थिए ।
प्रचण्डले आफूसहितका नेकपा सचिवालयका पाँच नेताको वामदेव गौतम निवासमा भेला गरेर ओलीमाथि दबाब बनाउने रणनीति अंगीकार गरेका थिए । वामदेवको स्वार्थ संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभाको सांसद प्रधानमन्त्री हुन पाउने बाटो खोल्नु थियो । नौ सदस्यीय सचिवालयमा बहुमत सदस्य अर्कोतिर हँुदा ओली दबाबमा परेका र आफ्नो प्रधानमन्त्री पद नै धरापमा परेको टड्कारो महसुस उनलाई हुनथाल्यो । प्रचण्डले बीचको अवधिमा नेकपाका नेता माधवकुमार नेपालसँग लगातार हेलमेल बढाएर ओलीमाथि दबाब बनाएका थिए । करिब दुईतिहाई संसदीय समर्थनको सरकार भएर पनि यसपाली सभामुख चयनमा अभुतपूर्व फोहोरी खेल र प्रक्रिया चलाएर निर्णयमा पुग्यो ।
सभामुख भनेको संवैधानिक परिषदको पनि सदस्य हुने सम्मानित ओहोदा हो । साथै द्वन्द्वकालीन अपराधले प्रचण्डलाई बढ्तै लखेट्ने गरेको र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई अर्धन्यायिक रुपमा र कानुनी हैसियतले सशक्त बनाएर आफूलाई खतरामा पार्ने हदसम्म संसद र सो आयोगमा कुनै क्रियाकलाप हुन नपाओस भन्नेमा प्रचण्ड चनाखो छन् । त्यसैले आफू प्रधानमन्त्री हुँदाका विवादास्पद महान्यायाधिवक्ता रमन श्रेष्ठलाई उनले यसअघि आयोगको प्रमुख आयुक्त बनाउन लगभग सहमति जुटाईसकेका थिए । तर केके भएर त्यो प्रयास असफल भएपछि उनी यस मामिलामा कांग्रेस सभापति शेरबहादुर देउवासँग हिमचिम बढाउन थाले । किनकि २०५८ मा आफ्नै पार्टी नेपाली कांग्रेसले माओवादीलाई दमन गर्न संकटकाल नलम्ब्याउ भन्दाभन्दै अटेर गरेको विषय कांग्रेसभित्र मात्र विवाद भएको थिएन, अन्तर्राष्ट्रिय समुदायको लागि पनि अर्घेलो देखिएको थियो । संकटकाल लगाएर गरिएका हत्याका पीडितहरूले देउवाविरुद्ध पनि धेरै उजुरी दिएका छन् । देउवा र प्रचण्डलाई ती मुद्दाबाट बच्न आपसमा हिमचिम बढाउनु नै थियो । त्यसै क्रममा कांग्रेसको पनि समर्थन जुटाएर अग्नि सापकोटालाई सभामुख बनाउने मौका प्रचण्डलाई मिल्यो ।
कमरेड किरणका सम्धी यी हुन् अग्नि सापकोटा
राजनीतिको प्रारम्भदेखि नै प्रचण्डको निरन्तर निकट र विश्वासिलो भएर क्रियाशील, ०५२ देखि भूमिगत, सिन्धुपाल्चोकको कुबिण्डेमा पुख्र्यौली घर भएका, गृहजिल्लाको निर्वाचन क्षेत्र–२ बाट ३ पटक निर्वाचित ६२ वर्षीय सापकोटा ०३४ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भए । २०३३ सालदेखि स्थानीय शिक्षकका रुपमा कार्यरत उनी १५ वर्षको शिक्षण पेशा छोडी ०४८ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भए । ०६८ सालमा सूचना तथा सञ्चार र ०७२ मा वन तथा भूसंरक्षण मन्त्री भए । २०६१ चैत १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा माओवादीको सभामा नेपाली सेनाले गोली चलाउँदा यिनी घाईते भएका थिए । माओवादी वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ र सापकोटा सम्धी हुन् । किरणकी छोरी चेतनासँग सापकोटाका छोरा दीपकको वैवाहिक सम्बन्ध गाँसिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया