बागमती सरसफाई अभियानः १२ हजार टन फोहोर संकलन

बागमती सरसफाई अभियानको ७ वर्ष पूरा भएको छ । ३५० औं हप्तासम्म आइपुग्दा १० लाखभन्दा बढी स्वयमसेवक यस महाअभियानमा सहभागी भइसकेका छन् । यस दौरान बाग्मती लगायत विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा जस्ता नदीहरुबाट जम्मा १२ हजार टन फोहोर संकलन भएको छ ।

वि.स. २०७० सालबाट सुरु गरिएको बागमती सरसफाई महाअभियानको ३५० औं हप्तामा आजपनि बागमतीको सरसफाई गरिएको छ । २०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट महाअभियानको सुरुवात गरिएको थियो । अभियान सुरु भएपछि बागमतीका शाखा नदीहरु विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाई थालिएको छ ।

उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ । उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ ।

३५० हप्तामा महाअभियान प्रवेश गरेको विशेष अवशरमा काठमाडौं महानरपालिका वडा नम्बर ११ ले स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक गरेको छ ।

शनिवार बागमती नदी सरसफाइ महाअभियानको ३५० औं हप्ताको विशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले अवधारणा सार्वजनिक गरेका हुन् । वडाले अघि सारेको अवधारणामा अबको २ वर्षभित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने योजनाहरु समेटिएका छन् । त्यसैगरी यही वर्ष चेस पार्कको निर्माण सम्पन्न गर्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिसँग मिलेर प्रसुति गृह पछाडिको करिब ५८ रोपनी जग्गामा हरियाली कायम गर्ने लगायतका योजना पनि छन् । यस्तै घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराउने व्यवहार नियन्त्रण गर्ने, सार्वजनिक जग्गा संरक्षण गरी सार्वजनिक उपयोगमा ल्याउने, तरल फोहोर प्रशोधनका कार्यक्रम सञ्चालन गर्ने, अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने तथा अतिक्रमित जग्गालाई संरक्षण गर्ने विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?