हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका राउतको मृत्यु

काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गर्ने हेम राउतको मृत्यु भएको छ ।

राउत लागूऔषध मुद्दामा हिरासतमा रहेका थिए । उनी बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका व्यक्ति हुन् । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।

प्रहरीले देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल लगेका थिए । पछि उनलाई सिभिलबाट भेनस अस्पताल लगिएकोमा बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

उनलाई गएराति चिकित्सकले मृत घोषणा गरेको हुन् । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?