ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक, प्यालेस्टाइनी राष्ट्रपति कड्किए ‘यो षडयन्त्र सफल हुँदैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्व शान्ति योजना सार्वजनिक गरेका छन । लामो समयदेखि अपेक्षा गरिएको शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरेलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् । उनले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बसोबासमाथि इजरेलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा मध्यपूर्व शान्ति योजना इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा सार्वजनिक गरेका हुन् । योजना सार्वजनिक गर्ने क्रममा उनले प्यालेस्टाइनीहरूको निम्ति यो अन्तिम मौका पनि भनेका छन् ।

आजको सम्झौता प्यालेस्टाइनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो। सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ, उनले भने ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती योजनाको प्रशंसा गरेका छन् । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले उक्त योजनालाई षडयन्त्र भन्दै अस्वीकार गरेका छन् ।

‘म ट्रम्प र नेतान्याहुलाई भन्छुस् जेरूसलेम विक्रीमा छैन । हाम्रा सबै अधिकार विक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ । यो षडयन्त्र सफल हुँदैन,’ रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्यालेस्टाइनी प्रधानमन्त्रीले भनेका छन् ।

संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो ।

मङ्गलवार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

एजेन्सी

यो पनि पढ्नुहोस् : ट्रम्पको नीतिलाई अमेरिकी सर्वोच्च अदालतको अनुमोदन, ग्रीनकार्ड पाउन आप्रवासीहरूलाई कठिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?