ललितपुर । ललितपुरमा नुहाउन बाथरुम पसेका पतिपत्नीको निसास्सिएर मृत्यु भएको छ ।
तिखेदेवलस्थित स्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका उनीहरुको निसास्सिएर ज्यान गएको हो ।
मृत्यु हुनेमा ४२ वर्षीय हस्त गर्बुजामगर र ३९ वर्षिया उनकी श्रीमती नेत्रकुमारी रहेको प्रहरीले जनाएको छ ।
तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेर सो दम्पती अबेरसम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया