गोरखा । गोरखामा गत साउन १९ गते प्रहरीले बरामद गरेको १६ किलो सुन व्यापारीबाट लुट्ने मनशायले गोप्य योजना बनाएका मूख्य नाईकेलाई प्रहरीले ६ महिनापछि पक्रन सफल भएको छ । गोरखा चुमनुब्री गाउँपालिका वडा नम्बर १ ठाडोभ-याङ बस्ने वर्ष २० का कमल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्की तिनै हुन्, जसले गत असोज ११ गते नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरेका थिए । अभियानले भरतपुरस्थित चौविसकोठीमा भष्ट्राचार, बेथिति र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी सभा गर्न लागेको बखत शाहीमाथि निर्घात रुपमा फलामे रड, र मुक्का प्रहार गरेको भिडियो बाहिरीएको थियो । कुटपिटबाट उनी गम्भिर घाईते भएका थिए ।
यसरी पक्रियो प्रहरीले…
गोरखाको धार्चे वडा नम्बर ३ तातोपानी मेला थियो । १५ गतेदेखि सुरु भएको उक्त मेलामा विभिन्न कार्यक्रमहरु राखिएको हुँदा मानिसहरुको बाक्लो भिडभाड थियो । सुन प्रकरणपछि फरार कार्की पनि जात्रामा आएको प्रहरीले सुईको पायो । लगत्तै प्रहरी नायव निरीक्षक नवराज ईटनीको नेतृत्वमा खोजी सुरु गरेको प्रहरी अभियुक्त कार्कीसँग आमुनेसामुने भयो । अभियुक्त कार्कीले प्रहरी नायव उपरीक्षक ईटनीमाथी आक्रमण गर्न खाजे । कार्कीले वादविवाद गरी आफू संलग्न नभएको बताएका थिए । उनलाई प्रहरीले पक्रेर आरुघाट ईलाका प्रहरी कार्यालय पठायो । निज कार्कीबारे अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको छ ।
भएको के थियो ?
गत श्रावण १९ गते बिहीबार गोरखामा १६ किलो सुन बरामद भयो । तस्कर अर्थात् व्यवसायी धनकुमार गुरुङले नै पैसा हराएको निवेदन दिएपछि प्रहरीले मिहिन ढंगले अनुसन्धान गर्यो । खोजीका क्रममा यतिका परिमाणमा सुन बरामद भयो । गोरखाको धार्चेमा रहेको ओडारमा लुकाइराखेको १६ किलो सुनसहित एकजना पक्राउ परेका थिए । गोरखा चुमनुब्री गाउँपालिका हुल्चुकका खच्चड व्यवसायी धनकुमार गुरुङले त्यतिको परिमाणको सुन चीनबाट तस्करी गरेर ल्याएको प्रहरी स्रोत बताउँछ । उनी होटल व्यवसायी पनि हुन् । अहिले पक्राउ परेका कमल कार्कीका दाई दमाई कार्की जो खच्चड धपाउने काम गर्थे । उनैको सुराकीमा कमल कार्कीले सुन लुट्ने योजना बुनेका थिए । तर खच्चड धपाउने कार्कीलाई साहुले सुन नै बोकेर ल्याएका छन् भन्ने जानकारी थिएन । उनले बहुमूल्य सामान आएको जानकारी गराएको अनुसन्धानबाट खुलेको एसपी ओम अधिकारीले लोकपथलाई बताए । नयाँ एसपी ओमप्रसाद अधिकारी गोरखा प्रहरी प्रमुखको रूपमा खटिएपछि नै उनले घटनाको सूक्ष्म अनुसन्धान सुरू गरेर यो कुरा पत्ता लगाउन सफल भएका थिए ।
गत असार ११ गते पनि उत्तरी गोरखामा सामान पुर्याएर उनी खच्चड धपाउँदै माछीखोला फर्कंदै गर्दा राती १० बजेतिर खोर्लावेंसीमा उनीमाथि आक्रमण भएको हल्ला चल्यो। आठ नौ जना युवा समूहले धनकुमारमाथि आक्रमण गरेपनि मध्यरातमा कसले किन आक्रमण गरेको खुलेको थिएन। त्यसैमाथि घटना भएको एक सातासम्म पनि धनकुमार परिवारको सम्पर्कमा आएनन्। कारण उनी सुन तस्करी गरिरहेका रहेछन् । तर यो कुरा कसैलाई थाहा थिएन । परिवारले उनको खोजी गरिदिन प्रहरी गुहारे।
प्रहरीले उनको खोजी सुरु गर्यो । मध्यरातमा त्यसरी कुटपीट भएका कारण न मारेर पो फालिएको छ कि भनेर प्रहरीले उनलाईबूढीगण्डकी किनारामा पनि खोज्यो । तर उनी फेला परेनन् । आक्रमण गर्नेहरू पनि प्रहरीले फेला पारेन । घटना थप रहस्यमय बन्दै गएको थियो ।
गुरुङले सुन फेला परेको १९ दिन अघि आफ्नो सात लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर उनको व्यवहारमा शंका गरेको प्रहरीले त्योबीचमा पैसा नभएर सुन हराएको हो भन्ने सूचना पायो । प्रहरीले आधा दर्जन टोली परिचालन गर्यो र ओडारमा सुन फेला पारेको थियो । लगत्तै कुरोको चुरो बाहिरीएपछि निज कार्की फरार थिए । उनी मेलामा आएको मौकामा प्रहरीले उनलाई पक्रन सफल भएको हो । धनकमल हराएको २६ दिनपछि प्रहरीले बुधबार उनलाई काठमाडौंमा फेला पार्यो। सोधपुछ गर्दा थाहा भयो ! त्यो दिन उनी उत्तरी गोरखाबाट खच्चडमा सुन ल्याइरहेका थिए।
पछिल्लो समय तस्करहरूले गोरखालाई सुन तस्करीको नयाँ रूट बनाएका छन्।
पोहोर भदौमा पनि गोरखामा १० किलो सुन बरामद भएको थियो। चीनको तिब्बतबाट उत्तरी गोरखा हुँदै ल्याउँदै गरेको १० किलो सुनसहित दुई जना पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया