यमुनापारीका यस्तै कामले भड्किन्छ, भारतविरोधी भावना !

लोकपथ विदेश ब्युरो
नेपालबाट भारततर्फ निकासी हुने पाम तेलमा भारतले अवरोध खडा गरेको छ । यस्तो अवरोध यो नै पहिलो होइन । कहिले अदुवा वा अलैँचीमा, कहिले यस्तै वस्तुका बारेमा अनावश्यक विवाद र किचकिच झिक्ने हर्कत गरेर नेपाली किसान तथा निर्यातकर्ताहरूलाई हैरानी दिने काम हुँदैआएकै हो । यस्तो झन्झट र यातना दिने भारतीय पक्षले ३३ किलो सुन वा त्यसअघि २ वर्षभरि नै तस्करी गरिएको ३८ क्विन्टल सुन कसरी सुटुक्क सीमा पार गर्न छोडिदियो ? यसैबाट धेरै तथ्यहरू बुझ्न सहज हुन्छ ।
दुवै देशका जिम्मेवार र प्रतिष्ठित व्यक्तित्वहरू (इमिनेन्ट पर्सन्स् ग्रुप, ईपीजी) को संयुक्त सहभागितामा दुई मूलुकका निर्वाचित सरकारको सहमति अन्तरगत मिहिनेतका साथ तयार गरिएको १९५० सन्धी पुनरावलोकनबारे संयुक्त समितिको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्रहण गर्न हालसम्म मानेका छैनन् ।

यसमा भारतीय पक्षले यो वा त्यो कारण केही नभनी बिनाकारण सो प्रतिवेदन बुझ्न अस्वीकार गर्नुको रहस्य के हो ? जानी नसक्नु भएको छ ।

गत कार्तिक १६ गते नेपालको कालापानी क्षेत्रको ३ सय ९० वर्गकिलोमिटर निर्विवाद नेपाली भूभाग भारतले आफ्नो मानचित्रमा गाभ्यो, जुन बेला काश्मिर र लद्दाखको बारेमा उसले नयाँ कदम चलाएपछि उसलाई आवश्यक पर्ने आन्तरिक नक्सामा नेपालले आफ्नो भूभाग समेत गुमायो । यसै विषय लाई लिएर नेपालभित्र भारतविरोध चर्को आक्रोश उत्पन्न भईरहेकै अवस्थामा नेपालका राजदूत पनि भईसकेका पूर्वविदेश सचिव श्याम शरणले कालापानी विवादको सन्दर्भमा भारतीय अँग्रेजी दैनिक ‘इन्डियन एक्सप्रेस’ मा जुन लेख लेखे, त्यसबाट यिनको भँडुवा तथा आमबिहारी मानसिकता प्रकट त भयो नै, त्यसबाट दुई मुलुक वीचको सम्बन्धमा कटुता चर्काउने काम ग-यो । कालापानी विषयमा भारतको सवुत प्रमाण नभए पछि उनले नेपालतिर धम्की दिने लेख लेखेर विष वमन गरे ।

नेपालको छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा ‘बाहृबुँदे समझदारीपत्र’ नामक धर्मपत्र गराएर लोकतन्त्रवादी पार्टीहरू र नेपाली माओवादीका बीच मितेरी लगाइदिने काममा भारतको वर्तमान नेतृत्व भित्रभित्रै लागेको थिएन भन्यो भने नेपालको कसैले पनि पत्याउँदैन । विद्रोहमा लागेको नेपाली माओवादीको ‘बिप्लब समुह’ पनि यसअघि खुला राजनीतिमा आउन पाएको भिसा त्यही १२ बुँदे समझदारीपत्र हो ।

माओवादीलाई सिंहदरबारमा हुलिदिएर नारायणहिटी राजदरबारबाट राजतन्त्र उखेल्ने त्यस्तो काम भयो, जस्तो कि मूलढोकाबाट बाघलाई धपाएर पछाडिको ढोकाबाट कोठाभित्र भालु हुल्ने काम भयो । यो त अहिले भारतकै लागि पनि महँगो साबित भएको छैन र ? यसो गरेर भारतले के श्रेय पायो ? यो काममा लागेका एक मू्ख्य हस्ती यिनै श्याम शरण हुन् ।

दिल्लीको एक पत्रकार सम्मेलनमा एउटा विदेशी पत्रकारले सोधेछन्, ‘जसरी भारतले बाहृबुँदे समझदारीपत्र गराईदिएर नेपालका माओवादी र संसदवादी दलका बीच सहकार्यको बाटो खोलियो, त्यसैगरी भारतका माओवादी र नयाँदिल्लीका बीच त्यस्तै समझदारीपत्र गराउन नेपालले सक्छ कि सक्दैन ? नेपाल यसबारे के चाहन्छ ?’ यो प्रश्न कांग्रेसका सभापति बरिष्ठ नेताको रुपमा भारतको भ्रमणमा गएको बेला शेरबहादुर देउबालाई सोधिएको थियो । देउबाले ‘भारतका माओवादीलाई तह लगाउन भारत आपैmँ सक्षम छ’ भन्नेखालको गोलमटोल जवाफ दिएर उम्किएका थिए ।

आज भारतको ‘माओवादी जनयुद्ध’ त्यहाँको भित्री युद्ध (India’s hidden war) का नामले चिनिन्छ । उडिसा, छत्तिसगढ, झारखण्डजस्ता खानीका धनी राज्यमा माओवादीको आधार इलाका छ । भारतीय विदेश सचिवमा श्याम शरण आएपछि भारतीय माओवादीको गतिविधि झन् घनीभूत भएको थियो ।

इन्डियाका कुल ६०४ प्रशासकीय जिल्लामध्ये करीब दुईसय (एकतिहाई) जिल्लामा भारतीय माओवादीको सक्रिय सैन्य गतिविधि छ । त्यहाँको राज्य पुलिस खुफिया विभागका प्रमुखले केही समयअघि बताएका थिए, “नक्सलीहरूले परिस्कृत रणनीति र आधुनिक हतियारको विकास गरिसकेका छन् । हालै हामीले रकेट प्रक्षेपक, मोर्टार शेल र मेशिनगनजस्ता हातहतियार बरामद गरेका छौँ ।”

नेपाली माओवादीले नेपाली सेनाबाट लुटेकामध्ये ७८१ थान दुर्लभ र शक्तिशाली हतियार, यता प्रचण्डले “कोही खोलाले बगायो कुनै बिग्रिएर पनि फालियो” भनेर भारतका माओवादीलाई दिएका थिए । ‘शत्रु’ लाई बुझाउनुभन्दा हतियार उठाइरहेको आफ्नो मित्रशक्तिलाई दिनु उचित हुन्छ भनी ती हतियार भारतीय माओवादीलाई हस्तान्तरण गरियो, जस्तो कि नेपाली काँग्रेसले ३० को दशकअघि सशस्त्र क्रान्तिको लागि जोहो गरेको हतियार काममा नआउने भएपछि बंगलादेशमा स्वतन्त्रता आन्दोलन चलाईरहेको ‘मुक्तिबाहिनी’ लाई पठाईएको थियो । माओवादीले दिएका तिनै शक्तिशाली हतियारको तुजुकमा भारतीय माओवादीले त्यसबेला निकै ठूला आक्रमण गरेर भारतीय सुरक्षाफौजतिर ठूलो हताहती गराइदिएका थिए ।

नेपाल र भारत सबै कुराले छिमेकी र परममित्र मुलुक हुन् । नेपालको विकासमा भारतले धेरै किसिमको सहयोग गरेको छ । नेपाली जनजीवनमा भारतले अविष्मरणीय गुण लगाएको छ, हामीलाई ऋणी बनाएको पनि छ । तर उसको नेपालप्रतिको ब्यवहार किन ‘उपरखुट्टे मनोवृत्ति’ को तुच्छ बडप्पनबाट निर्देशित हुन्छ ?

नेपालसँग गरिएको कुटिल ब्यबहार कालान्तरमा आफैँतिर फर्किन्छ भन्ने ध्रुबसत्यलाई आत्मसात गरेर भारतले नेपालसँग ब्यवहार अपनाओस् भन्ने आवाज, पेटमा कुरा नलुकाई बोल्ने सच्चा मित्रको आग्रह हो । नेपाल–भारत सम्बन्धका नाममा दलाल पाल्ने आरोप लागेको भारतलाई शुभेच्छुकको निःस्वार्थ आग्रह अरुचिकर लाग्नसक्ला । नेपालतिर गरिएको गलत ब्यवहारको परिणतिको मार आखिर भारततिरै पर्न गएको कुरा इतिहासका तथ्यहरूले बताउँछन् ।

२०७२ साल असोजमा भारतले नेपालमाथि करिब ५ महिना नाकाबन्दी गर्यो । त्यसको परिणाम के भयो ? नेपाललाई चीनको झन् नजिक पु-याउने काम भारतले नै गर्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ नीति भरोसा नभएको हावादारी गफ रहेछ भनेर बुझ्नुपर्ने भयो ।

नेपालको इतिहासमा पहिलो विमान अपहरण २०३१ सालमा तत्कालीन शाही नेपाल बायुसेवा निगमको बिराटनगरबाट काठमाडौँका लागि उडेको यात्रुबाहक एभ्रो जहाजलाई नेपाली काँग्रेसले अपहरण गरेर भारतको फार्बिसगञ्जमा पु¥याइयो । विमान अपहरणका मूल योजनाकार गिरिजाप्रसाद कोइरालाले आफ्ना संस्मरणमा भनेका छन्, तत्कालीन ‘रअ’ (भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालिसिस् विङ्) का संस्थापक प्रमुख रामेश्वरनाथ काओ (सन् १९१८—२००२) सँगको सल्लाह र सहमतिमै अन्तिम विकल्पका रुपमा त्यो विमान अपहरण गरियो ।

लौ, नेपालको विमान अपहरणले त भारतको टाउको दुखाइ भएन रे ! तर पाकिस्तानको एउटा आततायी दस्ता ‘हर्कत–उल–मुजाहिद्दीन’का बरिष्ठ नेताले एक सन्दर्भमा भनेका रहेछन्, “हामीले केही दशकदेखिका दक्षिण एशियामा भएका विमान अपहरणका घटनाको गम्भीर अध्ययन ग-यौँ । यसमा सन् १९७१ मा इन्डियन एयरलाइन्स्को फोकर बिमान श्रीनगरबाट लाहोर लगेको घटना, बगंलादेश स्वतन्त्रता आन्दोलनका बेलामा भएको पाकिस्तानी एयरफोर्सको बिमान अपहरण, १९७८ मा भएको इन्डियन एयरलाइन्स्को बिमान अपहरण, १९८२ मा एउटा सिख लडाकूले इन्डियन एयरलाइन्सको मुम्बई–नयाँदिल्ली उडानको विमान अपहरण, १९८४ मै इन्डियन एयरलाइन्सको दिल्लीबाट श्रीनगरका लागि उडेको बिमान सात सिख अपहरणकारीले गरेको हाइज्याक, १९९३ मा इन्डियन एयरलाइन्स्को अमृतसर जाँदै गरेको जहाज अपहरण, १९९९ डिसेम्बरको आखिरीतिर हामीले काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गर्दा १९७३ मा आन्तरिक उडानमा रहेको नेपालको सानो विमान अपहरण गरेको रेकर्डबाट नेपालबाट पनि हाइज्याक सम्भव छ रहेछ भन्ने निष्कर्ष बनाएका थियौँ ।

माथिको भनाइले के देखाउँछ भने नेपालबाट उडेको भारतीय बिमान अपहरण गर्नका लागि अपहरणकारीले २०३० सालको अपहरण काण्डलाई आधार मानेको रहेछ, जुन अपहरणका लागि ‘रअ’ का प्रमुखले सहमति दिएको कुरा खुलेकै हो ।

चाहे सीमापारी तटबन्ध निर्माण गरेर होस् वा तिलाठी र कन्चनपुरमा भएका हत्या र आक्रमणका कारणले होस्, तराईमा मधेसी नेपाली समुदायबीच नै भारतबिरोधी भावना बढेर आएको छ । नेपालप्रतिको भारतीय गलत नीतिको परिणतिले यसो भएको हो । मधेसमा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक शक्तिलाई धराशायी पारेर ‘मधेशवादी’ नामका नानाथरि चरित्रका दलहरूलाई बढावा दिँदा मधेसमै भारतबिरोधी भावना बढ्नथालेको यथार्थलाई भारतले स्वीकार्नु जरूरी छ ।

भारतले आफ्ना माओवादीलाई र नेपालका माओवादीलाई हेर्ने दृष्टिकोणमा समानता नअपनाएसम्म र अन्य कतिपय मामिलामा पनि उसले सफलता र प्रतिष्ठा पाउला जस्तो पनि लाग्दैन । साथै डबल स्टान्डर्डको अवस्था रहेसम्म नेपाल–भारत सम्बन्ध जनस्तरदेखि सत्तासम्म सुमधुर हुन पाउँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?