देशको यो कठोर यथार्थ पढ्ने को छ ?

चालु आर्थिक वर्षको लागि बजेटले व्यवस्था गरेको पूँजीगत खर्च, लक्षित शिर्षकमा रू. ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ छुट्याईएकोमा हालसम्म मुस्किलले १० प्रतिशत खर्च भएको देखिन्छ, जब कि यस बेलासम्ममा ६० प्रतिशत खर्च भईसकेको हुनुपर्ने हो । पुस मसान्तसम्ममा करिब ४० अर्ब मात्र पूँजीगत खर्च भईसकेको छ । यसको अर्थ साढे तीन खर्ब रुपैयाँको स्रोत, परिचालन तथा खर्च हुन नसकेर त्यसै थन्किरहेको छ, जबकि खर्च हुन बाँकी रकम १ खर्बमाथि मात्र हुनुपर्ने हो । सरकारले विशेष महत्व दिएका र आफ्नो प्रतिष्ठाको विषय पनि बनाएका राष्ट्रिय गौरबका आयोजनाहरूमा यस अवधिमा भएको खर्च पनि मुस्किलले १० प्रतिशत देखिन आएको छ ।

संसदमा विरोधको आगो ओकलेर सत्तापक्षलाई आच्छुआच्छु पार्नुपर्ने मूख्य विपक्षी पार्टी एक त आपसी कलहमा लिप्त भएको र संसदमा नून खाएको कुखुराजस्तो भएको अवस्था छ । प्राकृतिक प्रकोप नभएको, मौसमले साथ दिएको, छिमेकी मुलुकहरू अनुकूल नै रहेका, बाह्य सहयोग रोकिने अवस्था नभएको, राजश्वका स्रोतहरू आफैँ धराशायी नभएको आदि अन्य कारकपक्षहरू सबैले साथ दिएको अवस्थामा पनि यति दयनीय कार्यसम्पादन हुनु आफैँमा लज्जास्पद परिदृश्य हो ।

प्रदेशहरूमा पनि यही रोग छ विकास बजेटमा अल्पव्यय । चालू आर्थिक वर्षको अवधिमा विकासका लागि ७ वटै प्रदेशहरूमा गएको पूँजीगत बजेटको रकम २ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ छ । तर ६ महिनाको खर्च मुश्किलले ८ प्रतिशतमात्र । यसको अर्थ असारे विकासले यो वर्ष पनि छोड्नेवाला छैन । कर्मचारीतन्त्र असारे विकासमा पल्केको छ र त्यसैमा रमाउँछ । यता प्रधानमन्त्री के.पी.शर्मा ओली सरकारलाई गति दिन, छिटो प्रतिफल पाउन र प्रशंसा पाउन लालायित देखिनु हुन्छ, जो स्वाभाविकै हो । मन्त्रीहरूको कार्यसम्पादनबाट निराश भएपछि हालैको क्याबिनेट बैठकमा पनि उहाँ आफ्नो मन्त्रिमन्डलका सदस्यहरूसँग कड्किनुभएको र आवश्यकता परे मन्त्रिपरिषद्मा आमूल हेरफेर गर्ने मुडमा देखिनु हुन्छ ।

आर्थिक विकासको एउटा गतिलो परिसूचक भनेको विकास र लगानीका क्षेत्रमा खर्च गर्नसक्ने सरकारको सामथ्र्य नै हो । पूँजीगत (विकास) बजेट खर्च हुन नसक्नु तर त्यसै अवधिमा साधारण बजेटमा ७० प्रतिशत खर्च भईसक्नु भनेको सरकार अनुत्पादक क्षेत्रमा खर्च गर्न मात्र उद्यत छ, विकासका क्षेत्रमा खर्च गर्न उदासिन छ भन्ने अर्थ लाग्छ । संसदमा लगभग दुईतिहाई जमातमा रहेको सरकार आफ्ना घोषित लक्ष पूरा गर्नमा दत्तचित्त हुन नसकेको देखिन्छ भने योभन्दा ठूलो खेदको विषय के हुनसक्छ ?

पूँजी आयात र व्ययको दिशामा हाम्रा बहसहरू परिणाममुखी र उत्पादनमूलक हुनुपर्ने हो तर ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एम्सीसी) बिरुद्धका जिम्मेवारीविहिन र बाजारु हल्ला हेरौँ त, एम्सीसी अन्तर्गत आउने ५५ अर्ब रुपैयाँको अमेरिकी सहायतामाथि कतिसम्म निर्लज्ज प्रपोगण्डा हुँदैछ ! २० लाख पर्यटक भित्य्राउने संकल्पसहितको नेपाल भ्रमण वर्ष २०२० का लक्षणहरू पनि यस्तै निरासाजनक नै छन् । आयोजकहरू पर्यटक तान्ने कार्यक्रम अरुतिर छोडेर अहिले जलिरहेको र अस्ट्रेलियालीहरू रोईरहेको अवस्थामा तामझाम र रमिता लगेर देखाउने काम भयो मानौँ मानिस मरेर आँगनमा लाश सुताईएको आँगनमा लगेर बिहेको ब्याण्डबाजा बजाईयो ।

सतहमा देखापरेका परिदृश्य आफैँ बोलिरहेका छन्, सबै ठूला दलहरू आफ्नै कारणले लतारिएका छन् र दयनीय रुपमा आफ्नै नाराका अगाडि पराजित भएका छन् । जनता आफ्नो निदोर्षीताको सजाय यिनै दलहरूबाट पाइरहेका छन् । माओवादीको शत्रुतापूर्ण विभाजन होस् वा एमालेसँगको प्राविधिक एकतापछि नेकपाको निर्माण र नेपाली काँग्रेसको गोज्याङ्ग्रे गतिविधि, सबै पार्टीको अधोगति उनीहरूकै कमाइ हो । यी पार्टीहरूले नेपाली राजनीतिको अचानोमाथि राखेर सबै ‘वाद’ ध्वस्त बनाइसकेका छन् । प्रख्यात कार्टुनिष्ट पोगोको व्यङ्ग्यले नेपालका सबै पार्टीहरूको चरित्र समेट्छ— ‘हामीले आफ्नो शत्रु फेला पा-यौँ, त्यो त हामी आफैँ पो रहेछौँ ।’

राजनीति तर्कहरूको उत्सव वा विचारहरूको मेलामात्र होइन, न त नाराहरूको प्रतिष्पर्धा मात्र हो । यो दरिद्रतम मूलुकको राजनीति भनेको जनतासमक्ष भरोसायोग्य प्रतिज्ञाको नाम हुनुपथ्र्यो । विकल्पको खोजी होइन संकल्पको इच्छाशक्ति हुनुपथ्र्यो । तर नेपालले अधोगतिशील राजनीतिका उलामालामा लागेर वा परिवर्तनका लागि उधारो भरोसा गरेर लोकतन्त्रको तपस्यामा धेरै अमूल्य अवसर गुमाइसकेको छ, जुन गइसकेको अवसर अब फर्केर आउँदैन । संसद औँलामा गन्न भ्याईने केही शीर्ष नेताको रबर स्टाम्प र निगाहको पात्रजस्तो भईरहेको छ । केही मानिसहरूले अँध्यारा कोठमा बनाएर अनाथालयले हुन्छ भनेको भरमा पारित गरेको बजेट कस्तो हुने ? यस्तै हुने ! काम जीरो ! यस्ता सवालको उत्तर सच्चा लोकतन्त्रवादी हूँ भन्नेले कम्युनिष्ट शिबिरभित्र खोजेर होइन, आफैँभित्र पाउनुपर्दछ । सानो चित्त बोकेर ठूलो पार्टी हुन सकिन्न, न त ‘कोठे शक्ति र ओठे भक्ती’ले कहीँ पु-याउँछ ।

खिचडी सरकार बन्ने र भत्किने दूषित परम्परालाई यो सरकारले सदाको लागि विदा गरेको होला भनेको त अस्थिरता मच्चाउने र खुट्टा तान्ने जमात त सत्तारुढ पार्टीभित्रै काफी मात्रामा रहेछ । आफ्नो पालो वा शेयर खोज्न ध्यानमग्न त्यस्ता नेताको दिमागबाट न जनताले भरोसा गर्नसक्ने मार्गदर्शन निस्कन सक्छ न त त्यस्ताका कण्ठनलीबाट जनताका अव्यक्त चाहना र आवश्यकतालाई वाणी दिने खुबी पाइन्छ । जनतालाई पिरोल्ने दुष्परिणामवाला राजनीतिको स्रोत कम से कम लोकतन्त्रवादी पक्षले बन्नुहुँदैन भन्ने चेत पलाउन सकेको भए यो दुरावस्था किमार्थ उत्पन्न हुने थिएन ।

आमजनतालाई नेपाली कांग्रेसमाथि ठूलो आशा थियो, अझै पनि छ । तर त्यो आसामा तुषारापात गर्ने काम काँग्रेसबाटै भइरहेको छ । परिणामप्रति लापरवाही बर्तिने चरित्र वा विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेता वा युवराजी ठाँट बोकेका दम्भी चरित्रहरूमा यो कटु यथार्थले नछोएको होला । तर लोकतान्त्रिक राजनीतिको दर्शनको केन्द्रबिन्दु भनेको आमजनता हो भन्ने चेतनाबाट ओतप्रोत भएको कुनै कांग्रेसजन भए ऊ कांग्रेसको वर्तमान ताबेदारी शैलीको विद्रोहमा उत्रिनु पर्नेहो ।
आज नेपाल संक्रमणकालबाट उम्केर पनि सटिक अर्थमा संकटकालबाट गुज्रिन थालेको छ । यो अपरिहार्य छ कि संकटले आपूmसँगै परिवर्तन पनि ल्याउँछ । यो पनि सत्य हो, आखिर नेतृत्वको अर्थ पनि परिवर्तन नै हो । सही अर्थमा परिवर्तन एउटा बहुआयामी अवधारणा हो । तर परिवर्तनका संवाहक हौँ भन्ने नेताहरू नै परिवर्तनको सही बाटोमा हिँडिरहेका छैनन् । गरीबी बाँड्ने राजनीति गरेर समृद्धि हासिल गर्ने सपनाको ब्यापार गर्छन् । झुटको यस्तो घीनलाग्दो राजनीति कहिलेसम्म चलिरहने ? घीनलाग्दा मान्छेका डरलाग्दा कुरा राजनीतिका नाममा नेपाली जनताले कहिलेसम्म सुनिरहनुपर्ने ?

इतिहासले लोकतन्त्रको मियोशक्ति बनाएको नेपाली काँग्रेसलाई यसकै नेताले सैद्धान्तिक र साङ्गठनिक दोहोरो पराजय थोपरेको एकमुष्ट परिणति आजको अवस्था हो । २०४७ सालको संविधानमा नेपाली कांग्रेसको सैद्धान्तिक विजय झल्किएको थियो । तर पछिल्लो जनआन्दोलनका नाममा काँग्रेसले त्यो सैद्धान्तिक विजयलाई तिलाञ्जली दियो र माओवादीका एजेण्डाको भरिया बन्यो । २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसलाई दोस्रो पार्टीमा झारियो । यो उसको साङ्गठनिक पराजय थियो । आश्चर्य के भयो भने, जुन रणनीति लगाएर राजतन्त्र ध्वस्त पारियो, त्यही रणनीतिले कांग्रेसलाई सखाप पार्न लागिएको छ । जब कुनै पार्टी सिद्धान्त र सङ्गठन दुबै दृष्टिमा पराजित हुनपुग्छ, तब त्यो पार्टीको औचित्य र सान्दर्भिकताको ठेगाना हराउँछ । सबभन्दा बिडम्बना र उदेकलाग्दो कुरा त यसका नेताहरूमा आफ्नो पार्टीले औचित्य र सान्दर्भिकताको धरातल गुमाएकोमा संवेदनशीलता देखिँदैन ।

कांग्रेसले समय छँदै आफूलाई ठीक बाटोमा फर्काउने हो भने यी विसङ्गतिबाट उसले भागबण्डा र हिस्सा खाने प्रवृत्तिबाट मुक्ती पाउनुपर्छ । जबसम्म कांग्रेसभित्र त्यस्तो चेतना र साहस पलाउने छैन, तबसम्म सारा परिवर्तन ब्यर्थ हुनेछ । ब्यर्थको परिवर्तनले कांग्रेसको बाटो छेक्नेबाहेक केही हुँदैन भन्ने धरातलीय यथार्थबाट यस पार्टीले अनुभव लिन सकेन भने यो पार्टी सिकिस्त बिमारी हुनेमात्र होइन, यसको मृत्युलाई टार्न कसैले सक्नेछैन । कांग्रेस तगडा हुने हो भने सरकारको अहिलेको दयनीय कार्यसम्पादन र नगण्य उपलब्धी उसको लागि अवसरको रुपमा प्रकट हुनेछ । _चन्द्रमणि गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?