काठमाडौं । निर्भयाको बलात्कारपछि हत्या दोषी चार जनालाई छुट्टाछुट्टै फाँसी दिन माग गरि दायर निवेदन दिल्ली उच्च अदालतले खारेज गरेको छ।
भारतको राजधानी नयाँ दिल्लीमा ७ वर्ष अघि सन् २०१२ मा भएको उक्त घटनाका चारै आरोपीलाई सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । तर सजाय सुनाएको वर्षौं बितिसक्दा पनि उनीहरुलाई फाँसी दिइएको छैन।
तर दोषी ठहर भएकाहरुले निवेदन दिँदै फाँसीलाई टार्न सफल भएका थिए । जनवरी २२ का लागि तय गरिएको मृत्युदण्ड फेब्रुअरी १ मा सारियो । तर, प्रशासनिक र कानुनी कमजोरीको फाइदा उठाउँदै दोषीहरुले फेब्रुअरी १ मा तय गरिएको फाँसी पनि रोक्न सफल भएका थिए।
त्यसैले केन्द्र सरकारले दोषीहरुलाई छुट्टाछुट्टै फाँसी दिन माग गर्दै दिएको निवेदनमाथि आज उच्च अदालतले फैसला सुनाएको हो।
दिल्ली उच्च अदालतका न्यायाधीश सुरेश कैतले सबै दोषीहरुलाई छुट्टाछुट्टै फाँसी दिन नसक्ने फैसला सुनाउँदै उनीहरुले न्यायीक प्रक्रियाको फाइदा उठाउँदै सजायबाट बच्न खोजेको उल्लेख गरेका छन्।
त्यसैले अदालतले सबै दोषीहरुलाई आगामी ७ दिन भित्र सबै न्यायिक र प्रशासनिक प्रक्रिया पुरा गर्न आदेश दिएको छ। अदालतको यो फैसलासँगै अर्को हप्ता उनीहरु विरुद्ध दिइएको डेथ वारेन्ट कार्यान्वयन हुने भएको छ।
सबै स्थानबाट उनीहरुले दिएको निवेदन अस्वीकृत भइरहेको अवस्थामा अदालतले दिएको एक हप्ता समयमा पनि उनीहरुले दिने सबै निवेदन प्रशासन र अदालतबाट अस्वीकृत हुन सक्ने बताइएको छ।
गत महिनामात्रै दिल्ली अदालतले उनीहरु विरुद्ध डेथ वारेन्ट जारी गरेको थियो। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया