माया विकको बलात्कारपछि हत्या प्रकरण : दोषीलाई जन्मकैदको फैसला

कैलाली । सामुहिक बलात्कारपछि हत्या प्रकरणमा दोषी देखिएकाहरुलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।

कैलाली गौरीगङ्गा नगरपालिका–११ की २१ वर्षीया माया विकको बलात्कारपछि हत्या गरिएको थियो । २०७५ साल असार १२ गते घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा भेटिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले असार २२ गते गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो । पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलाइएको थियो ।

प्रतिवादीमध्यकै भुवन खाती र सुरज चौधरीलाई ज्यानसम्बन्धी महलको १३ वमोजिम सजाय हुने र जर्वजस्ती करणीमा पनि सजाय हुने अदालतको फैसला छ । त्यस्तै दुई जना अरु प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीका हकमा ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारवाही हुनेछ ।

अर्का प्रतिवादी टपेन्द्र वोगटीलाई ज्यानसम्बन्धी महलको १७ (२) अनुसार ५ वर्ष कैदको फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?