प्रदेश नं ५ र प्रदेश नं २ को सीमांकन हेरफेर हुनसक्ने

नुवाकोट । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने बताए ।

“प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन्” उनले भने, “प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ ।”

वाग्मती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेशसभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पु¥याएको उनको भनाइ छ । वाग्मती प्रदेशको नाम र केन्द्र पार्टीको केन्द्रीय तहबाट भएको चयनले पायक नपर्ने स्थान राखेको भनेर उठेका जिज्ञासाप्रति इङ्गित गर्दै पूर्वप्रधानमन्त्री दाहालले केन्द्रको राजधानी काठमाडौँबाट समेत अन्यत्र सार्न यसअघि विभिन्न समिति र विज्ञको सुझाव आएको स्मरण गराउँदै प्रदेशको भूगोल र सीमाङ्कनका सम्बन्धमा नजिक र टाढा एवं नाम यो वा त्यो भयो भनेर नअल्झिन आग्रह गरे ।

आजदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगितामा जिल्लामा रहेका सबै स्थानीय तहबाट एक–एक समूह गरेर १२ समूहको सहभागिता रहेको आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।

उनको अनुसार प्रतियोगिता ‘लिग’ र ‘नकआउट’ चरणमा प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई रु एक लाख, दोस्रो हुने समूहलाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार पुरस्कार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?