काठमाडौँ । नेपाली सेनाले सर्भिस लाईफ पूरा भएको हेलिकप्टर तथा सो हेलिकप्टरसंग सम्बन्धित बिओन्ड इकोनोमिक रिपेयर भएका पार्टपूर्जा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (पुल्चोक क्याम्पस) लाई दिएको छ ।
नेपाली सेनाको तर्फबाट संभाररथी उपरथी प्रभुराम शर्माले सो हेलिकप्टर एक औपचारिक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा उपरथी शर्माले गौरवमय इतिहास बोकेको नेपाली सेनाले नेपाल सरकारद्वारा सुम्पिएका राष्ट्रिय गौरवका आयोजनाहरु तथा विभिन्न विकास निर्माणका कार्यहरु सम्पादन गर्दै आइरहेको र प्रधानसेनापति पूर्णचन्द्र थापाको कमाण्ड मार्ग निर्देशन अनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्याउन तयार रहेको बताए ।
अध्ययनमा व्यवहारिक ज्ञानको लागि विभिन्न काल खण्डमा महत्त्वपूर्ण कार्यहरुमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरुले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा पुल्चोक ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन, पुल्चोक ईन्जिनियरिङ्ग कलेजका प्रमुख, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, नेपाली सेनाका रथी, अधिकृत तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
२०४७ साल जेष्ठ २३ गतेबाट नेपाली सेनामा प्रयोगमा आएको उक्त हेलिकप्टरले कुल चार हजार एक सय एक्काईस घण्टा उडान तथा नौ हजार सात सय बाउन्न ल्यान्डिङ गरी २०७५ चैत्र २ गते अन्तिम उडान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया