काठमाडौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको खुलासा गरेका छन् ।
जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुराको खुलासा गरेका हुन् ।
उनले तत्कालीन सभापति कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेकोसमेत सुनाए ।
उनले भने ‘उहाँले ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो, यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो ।’ उनले अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि प्रष्ट पारे । विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने उनले दावी गरे ।
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष आजैको दिन मनाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया