काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीले नेपालको अर्थतन्त्रको तस्विर बदल्ने बताए ।
“आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ,” संसद बैठकमा उनले भने, “एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ। यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ ।” एमसीसीबारे सत्तारुढ दल नेकपाभित्रै विवाद रहेका बेला प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।
ओलीले संविधानको स्वीकार्यतामा कुनै समस्या नभएको बताएका छन् ।
उनले संविधान नमान्ने सीके राउत समूहलाई कान्ूनको दायरामा ल्याएको बताउँदै अन्य समूहलाई पनि यही बाटोमा ल्याउन सरकार अग्रसर रहेको बताए ।
आफू नेतृत्वको सरकारले विभिन्न ५५ वटा नयाँ कानुनहरु निर्माण गरेको, २०१ वटा ऐन संशोधन तथा १३ वटा ऐन खारेज गरेको उल्लेख गर्दै ओलीले सरकार सुखी नेपाली समृद्ध नेपालको अभियानमा अग्रसर रहेको बताए ।
पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै ओलीले भने, ‘पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दिनँ ।
म त्यस्तो लोकतन्त्रलाई मान्छु जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् । सबै नागरिकलाई समानतासहितको लोकतन्त्र होस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया