काठमाडौं । भन्दा अपत्यारिलो लाग्ला हामी गाई, भैंसी पाल्छौँ, त्यसको दूध खान्छौँ । त्यही बुढो भएपछि अथवा दूध दिन नसक्ने भएपछि बाटोमा छोडिदिन्छौं । गाईमात्र होइन, कुकुर, बिरालो आदि विभिन्न जनावरहरु हामीले घरमा पाल्छौं ।
जनावर राम्रो हुन्जेल हामीले पाल्छौँ र आफ्नो स्वार्थ परिपूर्ति भएपछि तिनीहरुको बेवास्ता गरेर बीच सडकमै छोडिदिने बानी छ ।
कुनै जनावरहरु बुढो भएकै कारण हामीले बाटोमा छोडिदिने गर्छौँ भने केही जनावरहरुलाई रोग लागेकै कारण बाटोमा फालेर आउने हाम्रो बानी छ । तर यसैबीच बाटोमा छोडिएका बिरामी पशुचौपायाहरुलाई उपचार गरेर स्वस्थ बनाउनका लागि आज भन्दा १४ वर्ष अगाडिदेखि बुढानिलकण्ठ नगरपालिकाको रुद्रेश्वरमा रहेको क्याट सेन्टर संस्थाले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।
हामीले रोग लागेर बाटोमा छोडेका पशुचौपायाहरुलाई क्याट सेन्टरले लिएर जान्छ र त्यसको उपचार गर्छ । क्याट सेन्टरले सबै रोगी जनावरहरुको उपचार गर्ने योजना बनाएतापनि ठाउँको अभावका कारण सबै जनावरहरुलाई क्याट सेन्टरमा राखेर उपचार गर्न नसकेको बताउँछिन् क्याट सेन्टरकी अध्यक्ष लक्ष्मी शर्मा ।
उनले भनिन् “हामीले बाटोमा छोडेका पशुचौपायाहरुको उपचार गर्ने र त्यसलाई व्यवस्थित गर्ने मन भएपनि ठाउँको अभावका कारण त्यो गर्न सकिरहेका छैनौँ, तर घरमा पालिरहेका कुकुरलाई केही रोग लाग्यो भने र बाटोमा छोडेका बिरामी भुस्याहा कुकुरहरुलाई भने अहिले आफ्नै उपचार केन्द्रमा लगेर उपचार गर्ने गरेका छौँ ।”
एशियाकै पहिलो महिला ट्याम्पो ड्राइभर समेत रहेकी शर्मा क्याट सेन्टरकी अध्यक्ष हुन् । क्याट सेन्टरले अहिलेसम्म कीर्तिपुर, स्वयम्भु, चावाहिल र बुढानिलकण्ठ लगायत काठमाडौंका विभिन्न ठाउँहरुबाट बिरामी कुकुरहरुको उपचार गरेर स्वस्थ बनाइसकेको छ ।
बुढानिलकण्ठ नगरपालिकाले एउटा कुकुरको शल्यक्रिया गरेवापत १५ सय रुपैयाँ दिने सहमति गरेको पनि उनले बताइन् । उनले थपिन्, “नगरपालिकाले एउटा कुकुरको अप्रेशन गरेको १५ सय दिने भनेको छ तर हामीलाई एउटा कुकुरको अप्रेशन गर्दा लगभग ३५ सय लाग्छ, तर पनि नगरपालिकाले यति धेरै सहयोग गरेकोमा म धेरै खुसी भएकी छु, मेयर ज्यू अनुगमनमा आउनुभएकोमा धेरै खुशी लागेको छ ।”
“हामी रोगी कुकुरको उपचार गर्दछौँ र उपचार सफल भइसकेपछि जहाँबाट ल्याएका छौँ त्यहीँ लगेर छोडिदिन्छौँ” लोकपथसँगको कुराकानीका क्रममा शर्माले प्रष्ट्याइन् ।
अहिले क्याट सेन्टरमा ३७ वटा कुकुरहरु छन् । केही उपचार गरिसकेका छन् त केही गर्न बाँकी छन् ।
क्याट सेन्टरले दैनिकजसो ८ देखि १४ वटा सम्म बिरामी कुकुरको शल्यक्रिया गर्छ ।
५ हजार भन्दा धेरै भुस्याहा कुकुरहरु बुढानिलकण्ठ नगरपालिकामा रहेको बताउँछन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल ।
क्याट सेन्टरको निरिक्षणका क्रमममा आज सोमबार त्यहाँ पुगेका मेयर खरेलले भने “प्रत्येक वडामा गएर त्यहाँको जानकारी लिँदा हामीले ५ हजार कुकुर पायौँ, त्यहाँ छोडिएका ५ हजार रोगी तथा भुस्याहा कुकुरहरुलाई क्याट सेन्टरसँग सहकार्य गरेर उपचारका साथै नियन्त्रण गरिरहेका छौँ ।”
क्याट सेन्टरसँगको सहकार्यमा बुढानिलकण्ठ नगरपालिकालाई भुस्याहा कुकुररहित नगरपालिका बनाउने प्रयत्न र सहकार्य गर्न पाएकोमा खुसी लागेको उनले बताए ।
नगरपालिकाले छिटै घरमा पाल्न लाने कुकुर वा कुनै पशुचौपायाहरुलाई त्यत्तिकै छोड्न नमिल्ने गरी कानून बनाउन लागेको जानकारी दिँदै नागरिक सचेत बन्नुपर्नेमा जोड दिए ।
क्याट सेन्टरमा डाक्टरसहित १४ जना कर्मचारी रहेका छन् । जग्गाको अभावका कारण समस्या भोगिरहेको क्याट सेन्टरले आज भन्दा ३ वर्ष अगाडिबाट भने आफ्नै जग्गामा पशुहरुको उपचार गरिरहेको छ ।
क्याट सेन्टरमा इमर्जेन्सी उपचारका लागि पनि उपचार गर्ने ठाउँ छुट्टै बनाइएको छ । क्यान्सर, खुट्टा भाँचिएका, घाँटीमा समस्या भएका विभिन्न किसिमका रोगी कुकुरहरुलाई त्यहाँ उपचार गरिन्छ ।
बाटोमा हुने रोगी कुकुरहरुलाई भने उपचारका लागि क्याट सेन्टर लगिन्छ र ३ देखि ४ दिनसम्म उपचार गरेर ठीक भएपछि फेरी त्यहिँ लगेर छोडिदिने गरिन्छ ।
नगरपालिकामा १३ वडा रहेको र १३ वडा मध्ये अहिलेसम्म ४ नम्वर वडाका १०३ र ३ नम्बर वडाका २४१ वटा कुकुरहरुको उपचार गरिसकिएको बताउँछन् बुढानिलकण्ठ नगरपालिका पशु सेवा शाखाका संयोजक काजी बहादुर श्रेष्ठ । उनले भने, “रोग लागेपछि मानिसहरु त्यसलाई घरबाहिर छोडिदिन्छन्, त्यसैले हामीले तिनको उद्धार गरिरहेका छौँ । कानून बनेपछि सहज होला ।
कानून बनाई सकेपछि स्वतः जनावरहरुलाई बेवास्ता गरेर बाहिर छोड्ने बानि हटेर जानेमा ढुक्क छौ,” उनी विश्वस्त देखिए ।
यसअघि लोकपथमा प्रकाशित यो सामाग्री पढ्नुभएको थियो ?
भुस्याहा कुुकुर व्यवस्थापन गर्ने क्याटः काठमाडौँलाई रेबिजमुक्त बनाउने सशक्त अभियान्ता
राजधानीको सडकमा यत्रतत्र भुस्याहा, रोगी कुकुरहरु लम्पसार परिरहेका हुन्छन् । आउजाउ गर्ने कतिलाई घिन लाग्छ ।
नाक छोपेर पन्छिदै अघि बढ्छन् । कतिलाई दया लाग्छ केही सेकेण्ड ‘च्व च्व कठै’ भन्दै अघि बढ्छन् । ती मध्ये केही एक पुिरया विस्कुट बाँडेर बाटो तताउँछन् ।
यस्ता रोगी कुकुर मार्फत् रेबिज भाइरस संक्रमण हुने भन्ने थाहा पाएकाहरु छेउछाउ समेत पर्न रुचाउँदैनन् । ‘छि छि दुर दुर’ गर्दै तर्किन्छन् ।
भुस्याहा कुकुरहरुलाई व्यवस्थापन गर्न एकताका भ्याक्सिन दिएर मार्ने योजना पनि नल्याइएको होइन तर यसो गर्दा पशुहरुको अधिकार हनन हुन्छ भनेर आवाज उठ्न थालेपछि यो पद्धतिमा प्रतिवन्ध लगाइयो ।
सन् २००४ मा नेपाल भ्रमणका लागि आएकी ब्रिटीश नागरिक जान सल्टरले यस समस्यालाई मध्यनजर गर्दै नयाँ संस्थाको अवधारणा ल्याइन् । उनको मूख्य उद्देश्य थियो स पशु अधिकारलाई संरक्षण गर्दै काठमाडौंलाई रेबिजमुक्त शहर बनाउने ।
भुस्याहा कुुकुर व्यवस्थापन गर्ने क्याट स् काठमाडौँलाई रेबिजमुक्त बनाउने सशक्त अभियान्ता
जन्मेपछि बाँच्न पाउनुपर्छ ।
मान्छेले मात्र होइन हरेक प्राणीले भन्ने अवधारणाका साथ सन् २००४ मा सल्टरले काठमाडौंका सडकमा बेवारिसे रुपमा अलपत्र परेका कुकुरहरुको व्यवस्थापन गर्ने योजना बनाइन् । योजना बन्यो ।
तत्काल योजनालाई संस्थागत स्वरुप दिइयो । काठमाडौं पशु उपचार केन्द्र ९क्याट० को रुपमा । बुढानीलकण्ठस्थित ‘क्याट’ काठमाडौंका भुस्याहा र रोगी कुकुरहरुलाई व्यवस्थापन गर्दै रेबिजमुक्त बनाउने अभियानका साथ स्थापना भएको गैरनाफामूलक सामाजिक संस्था हो ।
पशु उपचार केन्द्र विशेष गरेर कुकुरहरुको उपचारमा केन्द्रित भएतापनि संस्थाले आवश्यकता अनुसार बिरालो, बाँदरहरुको पनि उपचार गर्दै आएको संस्थाका एड्मिन बासु पराजुलीले बताए ।
आवासीय क्षेत्रबाट केही टाढा शान्त, एकान्तमा रहेको उपचार केन्द्र निर्माणाधीन अवस्थामा छ । उपचार भइरहेका, उपचार भएर ‘रिकभर’ हुँदै गरेका, पूर्ण रुपले ठीक भइसकेका कुकुरहरुलाई राख्न वेग्लावेग्लै स्थान छुट्याइएको छ । कतिपय ठीक भइसकेका स्वस्थ्य कुकुरहरु भने आँगनमा वा घरभित्रै पनि टहलिरहेका हुन्छन् ।
‘काली’ पनि त्यसैगरी नाँचिरहेकी थिइ । केही समय अघि मात्र जीवन मृत्युसँग जुधिरहेकी ‘काली’ अहिले स्वस्थ्य छे । नयाँ मान्छे आउनासाथ केही समय भुक्छे, त्यही मान्छेको वरिपरि घुम्दै सुँघेजस्तो गर्छे अनि आफ्नो मालिकबाट ‘चुप लाग’ को सङ्केत पाएपछि लुरुक्क पर्दै त्यहीँ छेउमा लम्पसार पर्छे ।
नयाँ जीवन पाएकोमा दङ्ग छे ऊ । यसरी विगत १४ वर्षदेखि यस संस्थाका कारण हजारौं कुकुरहरुले नयाँ जीवन पाएका छन् । काली पनि तीमध्ये एक हो ।
पशुले पनि मान्छे जसरी नै माया चाहन्छन्, बिरामी पर्दा उचित उपचार चाहन्छन् तर हामीजस्तो संवेदना व्यक्त गर्न सक्दैनन् ।
त्यसैले सर्वश्रेष्ठ प्राणी भएको नाताले उनीहरुको हेरचाह गर्ने जिम्मेवारी हाम्रो हो भन्ने कुरा बुझेर सल्टरको नेतृत्वमा र महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, कनकमणी दिक्षित, लक्ष्मीशर्मा लगायत नेपाली कलाकार तथा सामाजिक अभियन्ताहरुको सक्रिय सहभागितामा स्थापना भएको यस संस्थाको आधारभूत उद्देश्य शहरका भुस्याहा कुकुरहरुलाई बन्ध्याकरण गर्नु थियो ।
विशेषतः भुस्याहा कुकुरलाई । रेकर्ड हेर्दा अहिलेसम्म करिब २३ हजार कुकुरहरलाई संस्थाले बन्ध्याकरण गरिसकेको छ । यद्यपी, समयसँगै आफ्ना क्रियाकलापहरु परिमार्जन गर्ने क्रममा अहिले मूख्यतः तीन विषयमा संस्था केन्द्रित छ स्
–खोपमार्फत बन्ध्याकरण गर्ने, रेबिज न्यूनीकरण
–रोगी कुकुरहरुको उपचार
–उपचार भइसकेका कुकुरहरुको पुर्नस्थापना
यसका अतिरिक्त समयसमयमा विभिन्न ठाउँमा गएर भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप लगाउने, गाउँमा रेबिजसम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने जस्ता क्रियाकलापमार्फत् यस संस्थाले सेवा पु¥याइरहेको छ ।
राजधानीका विभिन्न ठाउँबाट रोगी, घाइते, भुस्याहा कुकुरहरुलाई उपचार गर्न, व्यवस्थापन गर्नका निमित्त फोन आउने भएकाले संस्थाले एम्बुलेन्स सेवाको व्यवस्था पनि मिलाएको छ ।
विगत ९ वर्षदेखि क्याटमै कार्यरत चिकित्सक डाक्टर विदुर पिया २४ घण्टै उपलब्ध हुन्छन् । राजधानीमा भुस्याहा र रोगी कुकुरहरुको सङ्ख्या धेरै र संस्थाको स्रोत र साधन कम भएकाले बोलाएको सबै ठाउँमा पुग्न नसकिने उनको गुनासो छ । ‘एउटा एम्बुलेन्स छ तर कहिलेकाहीँ दुईतिरबाट बोलाएको हुन्छ त्यो बेला चाहिँ साह्रै गाह्रो हुन्छ ।’ उनले गुनासो पोखे ।
‘एकैपटक दुईतिरबाट बोलाउँदा के गर्नुहुन्छ रु’ भन्ने प्रश्नमा डाक्टर पियाले भने ‘जसलाई तत्काल उपचारको आवश्यकता हुन्छ त्यसलाई प्राथमिकता दिन्छौं ।’
कुक, ड्राइभर, चिकित्सक साथै अन्य कर्मचारी गरेर संस्थामा हाल ५ जना कर्मचारी कार्यरत छन् । यसका अतिरिक्त स्वयंसेवकका रुपमा विभिन्न देशका नागरिकहरुको पनि उपस्थिति देख्न सकिन्छ ।
यूके लगायत अन्य देशहरुबाट आएको आर्थिक सहयोगबाट नै संस्था अहिलेसम्म चलिरहेको एड्मिन पराजुली बताउँछन् । ‘नेपालकै दाताहरुले पनि बेलाबेला सहयोग गरिरहनुहुन्छ ।’ उनले थपे ।
विशेष गरेर दुर्घटनामा परेका, रेबिज, डिस्टेम्बर, पार्वो, क्यान्सर आदिजस्ता रोगहरुबाट संक्रमित कुकुरहरु उपचारका लागि ल्याइन्छन् ।
उपचारका क्रममा मृत्यु भएका कुकुरहरुको लाशलाई व्यवस्थापन गर्न क्याटले परिवर्तन नेपाल नामक संस्थासँग समन्वय गरेको छ भने उपचार प्राप्त गरेपछि स्वस्थ्य हुनेहरुलाई उनीहरुको आफ्नै वासस्थानमा पुनस्र्थापित गराउँदै आएको छ ।
‘उपचार पाएपछि कतिले त यसरी रुप फेर्छन् कि हेर्दै पालौंपालौं लाग्छ । त्यसैले धेरैजनाले यहाँको कुकुर एडप्ट पनि गर्नुभएको छ ।’ पियाले मुस्कुराउँदै बताए ।
अत्यन्तै जटिल स्वास्थ्य समस्या आइप¥यो र उपचार गर्दा पनि निको हुने सम्भावना न्यून देखिएमा संस्थाले
इन्जेक्सनमार्फत् कुकुरहरुलाई सहजै मृत्यु दिने व्यवस्था समेत मिलाएको छ ।
पियाले थपे, ‘तड्पिएर, छट्पटाएर बाँच्न दिनु भन्दा बरु नदुखाई मृत्यु दिनु नै ठीक होला भनेर यस्तो गरेका हौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया