नेपाल ट्रस्टको नाममा देशभर २२ हजार रोपनी जग्गा

काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष इश्वर पोखरेलले नेपाल ट्रस्टको सम्पति सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै देशभरमा ट्रस्टको नाममा २२ हजार रोपनि जग्गा रहेको जानकारी दिएका छन् ।

अहिलेसम्म १२ वटा जिल्लामा २१ हजार ५ सय ६२ रोपनी जग्गा ट्रस्टको नाममा रहेको पोखरेलले जनाकारी दिए । यसबाहेक चल सम्पत्तिको विवरणसमेत ट्रस्टले सार्वजनिक गरेको छ।

सोमध्ये १५ हजार रोपनी जंगलमात्र भएको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ ।

त्यस्तै ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै रहेको उल्लेख गरीएको छ ।

दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल,छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन् ।

काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेछन् ।

अधिकांश सम्पत्ति २०५० सालमा र केही २०५३ सालमा लिजमा दिइएका हुन् । नेपाल ट्रस्टको नाममा रहेको १ सय ७४ रोपनी जग्गा अतिक्रमणमा परेको पाइएको छ।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो ।

ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको छ ।

काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ । अन्य जिल्लामा समेत जग्गा खोजी भइरहेको पोखरेलले जनाकारी दिए ।

ट्रस्टको सम्पत्तिबाट हुने आम्दानी दान पुण्यका लागि मात्रै नभएर शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा खर्च गर्ने योजना रहेको पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?