भद्रपुर । झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको दुई करोड र अन्यको एक करोड गरी तीन करोड पूँजी भएको हो ।
हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध हुने हुलाक बचत बैंक फाँटका इन्चार्ज रामहरि खतिवडाले बताए । एक हजार १०० ग्राहक रहेको बैंकमा ५०० देखि रु नौ लाखसम्म बचत गर्न सकिनेछ । कर्मचारीलाई बिनाधितो चार लाख ५० हजार ऋण दिने व्यवस्था गरिएको छ । मासिक तलबबाट कट्टी हुनेगरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उनले बताए । ऋण लिएवापत कर्मचारीले आठ प्रतिशत ब्याज बुझाउनुपर्नेछ । सो ऋण ७२ किस्ता अर्थात् ६ वर्षमा तिरिसक्नुपर्ने नियम छ ।
हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३/३४ देखि हुलाक बचत बैंकको स्थापना भएको हुलाक कार्यालय प्रमुख दामोदर घिमिरेको भनाइ छ । देशभरका ११७ हुलाक कार्यालयमा उक्त बैंक स्थापना भएको छ । सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हुलाक बचत बैंक सञ्चालन गरिएको हो ।
हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैंकसम्बन्धी कार्य हेर्ने गर्दछ । खतिवडाका अनुसार बैंकमा एक करोड ६० लाख मुद्दतिमा र एक करोड ५२ लाख ऋण लगानी गरेको छ । बैंकले बाल बचतलगायतका खातासमेत सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
टिकट बिक्रीबाट आम्दानी
झापा जिल्ला हुलाक कार्यालयले टिकट बिक्रीबाट गत आर्थिक वर्ष २०७५/७६ मा ४८ लाख ९८ हजार ९१५ आम्दानी गरेको छ । कार्यालय प्रमुख घिमिरेले हाल मासिक चारदेखि पाँच लाखसम्मको टिकट बिक्री भइरहेको बताए । उनका अनुसार अघिल्लो आव २०७४/७५ मा ४५ लाख ५२ हजार ७९३ को टिकट बिक्री भएको थियो । सरकारले हुलाक कार्यालयलाई टिकटका लागि २० लाख बजेट दिने गरेको प्रमुख घिमिरे जानकारी दिए ।
सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा हुलाक टिकट अनिवार्य चाहिन्छ । जिल्लाका विभिन्न सरकारी कार्यालयमा कामका लागि आएका सेवाग्राहीले निवेदनमा टिकट अनिवार्य टाँस्नु पर्छ । जिल्ला प्रशासन कार्यालय झापाको ढोकैमा हुलाककै कर्मचारी बसेर टिकट बिक्री गर्दै आएका छन् । हुलाक कार्यालयले तीन, पाँच, १०, १५, २०, र ३० का दरका टिकट जारी गरेको छ । हुलाक कार्यालय झापाको १७ इलाका हुलाक छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया