एमसीसी तत्काल सम्झौता नगर्ने श्रीलङ्काको निर्णय

काठमाडौं । श्रीलङ्काले तत्काल ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता नगर्ने भएको छ । एमसीसीका प्रावधानहरु अध्ययन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन अध्ययनपछि मन्त्रिपरिषदले उक्त सम्झौताबाट पछि हटेको हो ।

मन्त्रिपरिषद बैठकले यथास्थितिमा एमसीसी सम्झौता नगर्ने निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलङ्का सरकारका प्रवक्ता बन्दुला गुणवर्देनाका अनुसार प्रधानमन्त्री महिन्दा राजापाक्षेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकमा उक्त समितिको सुझाव प्रतिवेदन अध्ययनपछि तत्काल एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो ।

अध्ययन तथा सुझाव समितिले एमसीसीका केही प्रावधान श्रीलङ्काको संविधान र राष्ट्रिय सुरक्षाका लागि हानिकारक रहेको निष्कर्ष निकालेको थियो ।

एमसीसीका केही प्रावधानहरु मुलुकको संविधान र राष्ट्रिय सुरक्षाका दृष्टिले प्रतिकुल नहुने गरी संशोधन हुने अवस्थामा मात्र एमसीसीबारे पुनर्विचार गर्न सकिने श्रीलङ्का सरकारको भनाइ छ ।

श्रीलङ्काको ट्राफिक एवम् यातायात व्यवस्था र ‘ल्याण्ड मार्केट’ सुधारका लागि एमसीसी परियोजना अन्तर्गत अमेरिकाले ४ सय ८० मिलियन डलर सहयोगको प्रस्ताव गरेको थियो ।

नेपालमा भने एमसीसी परियोजना अन्तर्गत ५०० मिलियन डलर सहयोग गर्ने अमेरिकी प्रस्ताव छ । नेपालमा गठित एमसीसी अध्ययन कार्यदलले पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने सुझाव दिएको छ । यस विषयमा नेपाल सरकारले निर्णय लिन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?