वित्तीय स्थायित्वमा जोड दिनुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रवार उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताए ।

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे । अर्थमन्त्री डा खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताए ।

उनले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राखेका हुन् । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिए । उनले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताए । उनले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?