धर्तीको स्वर्गमा छौं भन्दै मन्त्री मानन्धर भन्छन्, ‘गलत ईन्जिनियरिङका कारण समस्या’

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताएका छन्। शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताएका हुन् । मन्त्री मानन्धरले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताए । नेपाल विश्वकै सबैभन्दा सुन्दर मूलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हासील हुने बताए ।
मन्त्री मानन्धरले नेपाल पृथ्वीको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपुर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताए । नेपाल जस्तै जैविक विविधताले भरिपुर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताए ।
प्रकृतिले दिएका उपहारसँगै हामीसँग पुर्खाको पौरख पनि रहेको बताउँदै मन्त्री मानन्धरले नेपालको मौलिक कला र संस्कृति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताए । प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरहरुका कारण नेपालले विश्वकै ध्यान केन्द्रीत गरिरहेको बताउँदै अब नेपालीहरुका बीचमा केही गरौं भन्ने भावना र विकासको चाहना तिब्र हुनुपर्ने उनको भनाई छ । वर्तमान सरकार जनताको आशालाई विश्वास र व्यावहारमा परिणत गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री मानन्धरले विकासका खाकाहरु कार्यान्वयन मार्फत अघि बढिरहेको बताए ।
कार्यक्रममा मन्त्री मानन्धरले देश विकासका लागि राजनीतिक र प्रशासनीक तहबाट बनेका योजनाको नक्सा डिजाइन गर्ने काम ईन्जिनियरहरुको भएको बताउँदै समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको भुमिका अतुलनिय रहने बताए । कहीलेकाँही गलत ईन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै मन्त्री मानन्धरले सचेत भएर काम गर्न पनि आग्रह गरे । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै कतै गलत ईन्जिनियरिङका कारण समस्या परेको बताए ।
आइतबारदेखि शुरु हुने युवा ईन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?