१०० दिनमा सडकका ९ हजार ५ सय खाल्डा पुरियो, अरु के–के भए काम ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफूले मन्त्रालय सम्हालेयताको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

रघुवीर महासेठको ठाउँमा मन्त्रालयमा सम्हाल्न आइपुगेका उनले कार्यभार सम्हालेको १०० दिन पुगेको सन्दर्भमा आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा सडकका खाल्डा पुर्ने कार्य भएको जनाए । यो सडकहरु खाल्डाखुल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उनको दावी छ ।

एक सय दिनको अवधिमा मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताए ।

हिउँदको भएकाले उल्लेखनिय मात्रामा कालोपत्रेको काम हुन नसकेपति प्राप्त उपलब्धि गौरवपूर्ण भएको र आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उनले बताए ।

यस्तै उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक बत्ति जडान गरी सञ्चालनमा आएको र ६ वटा चोकहरुमा असारभित्र मर्मतगरी सचालनमा ल्याउने योजना रहेको पनि उनले बताए ।

त्यसैगरी पैदलयात्रुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण गरिएको छ । बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माण डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापनको प्रकृयामा रहेको छ । यसैगरी चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत कलंकी—महाराजगञ्जखण्ड विस्तार कार्यको प्रारम्भिक कामहरु अन्तिम चरणमा पुगेको छ ।

चक्रपथको तिनकुने—एयरपोर्ट—तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न डिपिआएर तयार भएको छ । मन्त्रालयले राष्ट्रिय गौरबका आयोजना निर्माणका कामलाई पनि तिव्रता दिएको जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ वटा पुल निर्माण भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत ४८ किलोमिटर सडक कालोपत्रे भएको छ । ५ वटा पुल निर्माण भएका छन् । कालिगण्डकी कोरिडोरमा ३३ किलोमिटर ग्रावेल सम्पन्न भएको छ । ३ वटा पुलहरुको निर्माण पनि सकिएको छ । कर्णाली राजमार्गमा ५ दशमलव ६ किलोमिटर ट्रयाक खोलिएको छ ।

मन्त्रालयले मदनभण्डारी राजमार्थ अन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे भएको छ । ११ वटा पुलहरु निर्माण भएका छन् । सयदिनको अवधिमा २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । १ सय ३० किलोमिटर ग्रावेल भएको छ भने ६९ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पूजिँगत खर्च भएको छ । लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावदी २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

अल्पकालिन अवस्थाका लागि चार लेनको सडक निर्माणकार्य अगाडि बढाइएको उनले बताए ।

सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ति भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहको प्रकृया सुरु भएको उनले बताए ।

मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने बैकल्पिक मार्गको प्रयोग गरिने उनले बताए ।

चक्रपथ अन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डिपिआरु तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?