काठमाडौं। नेपाल वायुसेवा निगमले सोमबारदेखि पहिलो पटक जापानको नारितामा चन्द्र र सूर्य अङ्कित राष्ट्रिय ध्वजावाहक विमानको व्यावसायिक उडान शुरु गर्ने भएको छ । निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरेको थियो तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर काठमाडौँ–नारिता उडान गर्न लागेको हो ।
“नेपाली नागरिक र पर्यटकलाई ओसाका विमानस्थल टाढा भयो”, निगमका प्रवक्ता अर्चना खड्काले भने , “टोकियो नजिकैको नारिता विमानस्थलमा पहिलो व्यावसायिक उडान शुरु गर्न लागिएको हो, नेपाली धेरै बस्ने भएकाले सहज हुन्छ ।” जापानमा रहेका नेपालीका लागि आउजाउ गर्न नारिता उडानले सहज हुने देखिएको छ । नारिता उडान शुरु हुनु अगावै टिकट अग्रिम बुकिङ भइरहेको जानकारी दिँदै निगमका प्रवक्ता खड्काले भने , “काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले अग्रिम बुकिङ गरिसकेका छन् भने उताबाट आउने २६८ जनाले टिकट लिएका छन् ।
काठमाडौँ–नारिता उडानका लागि निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । काठमाडौँबाट राति १ः२५ बजे उडान गरेको जहाज स्थानीय समयअनुसार ११ः०० बजे नारिता अवतरण गर्नेछ भने नारिताको समयअनुसार दिउँसो १ बजे उडान गरेको जहाज नेपाली समयअनुसार १८ः२५ बजे अवतरण हुनेछ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।
निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा ‘प्रमोशनल फेयर’अन्तर्गत यो भाडादर सार्वजनिक गरे पनि भाडादर परिवर्तन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले ‘सेडुल’ उडान शुरु गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया