काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो । १५ औं योजनाको आधारपत्र भने गत बैशाख १७ गते पारित भएको थियो । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए । उनले बैठकमा देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको बताए ।
नले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सुझाव र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत बताए । त्यस्तै बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको उनले बताएका हुन् । यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।
बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरुका विषयमा समेत छलफल भएको थियो । त्यस्तै सार्वजनिक निजी साझेदारी अन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले बताए ।
१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पुरा गर्ने गरी २५ वर्षे दिर्घकालिन सोच सहितका कार्यक्रमहरु समावेस गरिएको छ । त्यस्तै संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया