सिभिल मलका लगानीकर्ता बीच टकराव, ऋण चुक्ता नहुँदा ७ लाख ९९ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको व्यवसायिक भवन सिभिल मल लिलाम हुने भएको छ । सिभिल मल सिभिल विजनेस कम्प्लेक्स अन्तर्गतको कम्पनी हो । जसमा लालकाजी तथा इच्छाराम तामाङको व्यवसायिक साझेदारीमा ५०/५० प्रतिशत लगानीमा उक्त मल सञ्चालनमा रहेको छ । दुइ जना व्यवसायीक साझेदारको टकरावका कारण सिभिल मल लिलामीमा जान लागेको हो । साथै उनीहरुको व्यवसायीक साझेदारी दुइ दशक लामो रहेको छ ।

मलका एक साझेदारका रुपमा रहेका इच्छारामले खोलेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाले गुरुङको सम्पती ३५ दिनभित्र लिलाम गर्न लागको हो । उनीहरुले मल सञ्चालनको लागि भन्दै करिव १ दशक अघि ६ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए । साथै उक्त ऋण चुक्ताको लागि सहकारीले पत्र काट्दै ३५ दिन भित्र उपस्थित हुन गत माघ १४ गते गोरखापत्रमा सुचना प्रकाशित गरेको थियो । समय सकिएको र ३ दिनभित्र सम्पर्कमा आउनका लागि ताकेता गर्दा समेत उपस्थित नरहेकाले सम्पती लिलाम गर्न लागिएको सिभिल ग्रुपका प्रवन्धक भिम खरेलले लोकपथलाई बताए ।

साथै मलको कुल मूल्य कति हो भन्ने नखुलाइएपनि सहकारीले कम्प्लेसको करिव ७ लाख ९९ हजार कित्ता शेयर लिलाम गर्ने तयार गरेको जनाएको छ । दिएको म्याद सकिँदा पनि रकम नतिरेकाले लिलाम गर्नुपरेको खरेल बताउँछन् । “मलका व्यवसायिक साझेदार लालकाजीको कुल ७ लाख ९९ हजार कित्ता शेयर सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थामा धितो रहेको छ” खरेलले भने ।

दुई व्यवसायीक साझेदारको व्यवसायीक सम्बन्धमा आएको खटपटका कारण समस्या उत्पन्न भएको र जसको कारण लिलामीको अवस्थामा पुगेको जानकारहरु बताउँछन् । त्यतिमात्र नभएर रियल स्टेट कारोबारमा नै समस्या आएका कारण पनि उनीहरुको व्यवासायीक धरातल खस्किएको स्रोतको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?