फागुन २१: सनसनीपूर्ण इतिहासको विगत फर्केर हेर्दा !

नेकपाको ‘शहिद दिवस’ मै प्रधानमन्त्री ओलीको मिर्गौला पुनःप्रत्यारोपण ! तर सुखानीमा सँधै यस दिन हुने गरेको सहिद स्मृति कार्यक्रम यो पाली स्थगित भएको छ । आफ्नो मिर्गौला फेरि फेर्ने उनले किन फागुन २१ को दिनलाई नै रोजे ? यसका विभिन्न कारण होलान् ।

ईतिहासमा फागुन २१ को दिनलाई विभिन्न घटनाको इतिहासका रुपमा जानिन्छ । यस दिन भएका धेरैवटा घटनाको झलक मसँग रहेछ । झापाबाट ईलाम जेल सार्ने भनी पाँच कम्युनिस्ट नेताहरू रामनाथ दाहाल, वीरेन राजवंशी, कृष्ण कु्ँईँकेल, नारायण श्रेष्ठ, नेत्र घिमिरेलाई पञ्चायती शासनले ‘नक्सलाईट’ भनी सुखानी खोलाको किनारस्थित जंगलभित्र हत्या गरेको थियो, २०२९ साल फागुन २१ गते आईतबार ।

२०५४ फागुन २१ गते नै संसदको सबभन्दा ठूलो दलको रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहाना प्रधानको मूख्य नेतृत्वमा वामदेव गौतम, सी.पी. मैनाली आदिको प्रयासमा विभाजित भएर नेकपा (माले) गठन भयो । २०५५ सालको यसै दिन संसदीय निर्वाचनको सिलसिलामा हिंडेका तत्कालीन नेकपा (एमाले) का रुकुम जिल्ला सचिव तथा उम्मेद्वार यदु गौतमको माओवादीले ग-यो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसतिर पनि यस दिन, यसको अघिल्लो वा भोलीपल्टका दिनहरूको जसरी सम्झना गरिन्छ, ती घटनाका सम्झनाहरू प्रीतिकर छैनन् । हिजोआजको कुरा गर्ने हो भने नेपाली काँग्रेसको सभापति देउबाविरोधी पक्षले १४औँ महाधिवेशनको तिथि घोषणा भईसकेको परिस्थितिमा विधान, नियम मिचेर एकलौटी रुपमा निर्णय गर्दै गएकोमा काँग्रेस केन्द्रीय समितिको बैठक बहिस्कार गर्नुका साथै प्रकाशमान सिंहको निवास (चाक्सीबारी, क्षेत्रपाटी) मा बेग्लै भेलाको आयोजना गर्नुबाहेक खासै कुनै घटना भएन, तर यो दिन सम्झाउने फागुन २० र २२ लाई एकपटक हेरौँ ।

२०७२ फागुन २० देखि २४ गतेसम्म नेपाली काँग्रेसको १३ औँ महाधिवेशन काठमाडौँमा भएको थियो । महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउबा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला उम्मेद्वार भएकोमा पहिलो चरणको निर्वाचनमा कसैको पनि प्राप्त मत ५१ प्रतिशत नपुगेपछि काँग्रेसको इतिहासमा दोस्रो चरणमा सभापति निर्वाचन गर्नुपरेको थियो । पहिलो चरणमा देउबाले १५६४ मत, पौडेलले ११६० मत र सिटौलाले ३२४ मत पाए । दोस्रो चरणको निर्वाचनमा पौडेलको १२९६ मतका विरुद्ध देउबाले १८२२ (५८.२ प्रतिशत) मत पाएर सभापतिमा विजयी भए ।

फागुन २०, ०६७ का दिन नेपाली काँग्रेसका संस्थापक, राजनेता कृष्णप्रसाद भट्टराई र ‘सेतो बाघ’ ‘बसन्ती’ जस्ता ऐतिहासिक तथ्यमा आधारित प्रख्यात उपन्यास लेख्ने उपन्यासकार तथा नेपाली काँग्रेसका पुराना नेता (ललितपुर काँग्रेसका पूर्वसभापति डाईमन शम्शेर राणा) को निधन भएको थियो ।

गिरिजाप्रसाद कोइरालालाई मार्ने समुहगत सांघातिक हमला : २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भईरहेको नेपाली काँग्रेसको सभामा मण्डले गुण्डाहरूबाट भएको सांघातिक आक्रमणमा परी घाईते हुनुभएका अधिवक्ता तथा रुपन्देहीस्थित काँग्रेसका सक्रिय कार्यकर्ता यादवनाथ आलोकको पर्सीपल्ट फागुन २२ गते सहादत भएको थियो । २० गतेको उक्त सभामा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोईरालाको प्रमुख उपस्थिति रहेको थियो । सो अपराधी समुहले उहाँलाई नै मार्ने लक्षले आएको थियो ।

२०५७ फागुन २२ गते जंगबहादुर पछि, १५० वर्षको अन्तरालमा नेपालबाट फ्रान्सको औपचारिक भ्रमण गर्ने प्रधानमन्त्रीको हैसियतमा गिरिजाप्रसाद कोइराला फ्रान्सको भ्रमणका लागि प्रस्थान गर्नुभएको थियो । फ्रान्सको यही ऐतिहासिक भ्रमणका लागि काँग्रेसमा सत्ताको लुछाचुँडी मच्चिएको र आफू भ्रमणमा जान गिरिजाप्रसादले आफ्नै सहयोद्धा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीबाट राजिनामा दिन बाध्य बनाएको जगजाहेर छ ।

२०५३ फागुन २३ गते प्रतिनिधिसभामा आफ्नै पार्टीका २ सांसद अनुपस्थित भएकोले विश्वासको मत नपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउबाद्वारा पदबाट राजिनामा दिनुपरेको थियो । विघटित प्रतिनिधिसभालाई सर्बोच्च अदालतको फैसलाले पुनःस्थापित गरिदिएपछिको डेढवर्षका बीच संसदीय अभ्यासमा भएका घीनलाग्दा खेल र षड्यन्त्रको पराकाष्ठामा यो कदम चलाईएको थियो ।

२०३६ साल फागुन २० गते बी.पी., गणेशमान सिंह लगायतका नेताहरूमाथि लागेको राजकाज अपराध मुद्दा विशेष अदालतका न्यायाधीश जनकमान श्रेष्ठको ईजलाशले “नैतिक जिम्मेवारीलाई कानुनी जिम्मेवारी वा दुवै जिम्मेवारी मानेर कानुनले दण्ड नमिल्ने हुनाले सँजाय तोक्नु नपर्ने” नजीर प्रतिपादनसहित फैसला गरी सफाई दिएको थियो, जो त्यसबेला पञ्चायती शासनभित्र ठूलो खैलाबैलाको विषय भएको थियो ।

२० फागुन २००७ सालमा भरत शम्शेर नेतृत्वको गोरखा परिषदलाई तत्कालीन गृहमन्त्री बी.पी. कोईरालाद्वारा प्रतिबन्ध लगाएको घोषणा भएको दिन थियो ।

इतिहासमा फागुन २१ र यसको आसपास
फागुन २१, १८६० (वि.सं.) जोगी भएका (स्वामी महाराज) रणबहादुर शाह भीमसेन थापासहित यही दिन बनारसबाट फर्केर काठमाडौँ आईपुगेका थिए । वि.सं १८६४ को यसै दिन गोर्खाली सेनाले पल्लो नुवाकोटको कृस्तीमाथि विजय पाएको थियो ।
अघिल्लो दिन फागुन २० हेर्ने हो भने २०५४ सालमा दूरसञ्चार प्राधिकरणको स्थापना भएको थियो । २०५० को यसै दिन नेपाल र स्लोभाक गणतन्त्रका वीच कुटनीतिक सम्बन्ध स्थापना भयो । वि.सं. १९४३ फागुन २० गते नै हो वीर शम्शेरले खड्ग शम्शेरलाई प्रधानसेनापतिबाट बर्खास्त गरेका थिए । त्यसपछि खड्ग शम्शेर पलायन भई भारत मध्यप्रदेशको सागरमा बस्न थालेका हुन् । १८४० फागुन २० गते गोर्खाली सेनाले पाल्ही माझखण्डमाथि पनि विजय पाएको थियो ।

एउटा घटनाको तिथिपछि त्यसको पृष्ठभूमी हेर्न रोचक हुन्छ । इतिहासका यस्ता घटनाक्रमले हामीलाई भावुक बनाउँछ, साथै नेपाल राष्ट्रले आफ्नो जीवनमा केकस्ता विगत बिताएर यहाँसम्म आयो भन्ने यथार्थबोध गर्न यस्ता घटनाले पक्कै पनि सघाउ पु¥याउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?