काठमाडौं । फागुन शुक्ल पक्षमा आउने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले एक प्रकारको अमला वनष्पतिलाई जनाउँदछ ।
आजको दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यसैले हाम्रो परम्परामा आजको दिन अन्य एकादशीझैँ विशेष महत्व छ ।
विष्णु पुराणमा तथा एकादशी माहात्म्यमा उल्लेख भए अनुसार भगवान् विष्णुले थुक्ने क्रममा वहाँको दिव्य मुखभित्रबाट चन्द्रमाझैँ देखिने एउटा आकृति प्रकट भयो ।
उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो । पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो ।
त्यहि बेलादेखि अमलालाई विष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा स्विकार गरियो । यहि कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिँदै आएको हो ।
पवित्र फल अमलालाई जडिबुटी औषधीका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफला मध्येको एउटा महत्वपूर्ण फल अमला हो ।
यसको नियमित सेवनले शरिरका धेरै विकारहरु नाश हुने भनाई छ । यसको स्वाद अमिलो हुने भएकोले पनि नाम अमला राखिएको जनविश्वास छ ।
फागुन शुक्ल एकादशीको कथा यस्तो छ । मान्धाताले महर्षी वशिष्ठलाई आमलकी एकादशीको कथा सुनाउनु भनेपछि वशिष्ठ भन्नुहुन्छ ।
कुनै समयमा सुखी तथा व्राह्मण,क्षत्रिय,वैश्य र शूद्र यी चारै वर्णले शोभिएको वैदिशक नाम गरेको नगर थियो । त्यो नगर सधैँ वेदध्वनीले गुञ्जयमान अत्यन्तै राम्रो थियो ।
त्यस श्रेष्ठ नगरमा नास्तिक तथा कुकर्म गर्ने कोही पनि थिएनन् । त्यस नगरमा सोमवंशी शशविन्दु नामका विख्यात,शास्त्रमा पारंगत,लक्ष्मीवात तथा शक्तिशाली राजा थिए ।
सर्वत्र सुकाल कल्याणै कल्याण र सबैमा आरोग्यता बिद्यमान थियो । त्यस नगरमा राजा तथा प्रजा सबै बिष्णु भगवान तथा शिवजीको पूजा गर्दथे ।
कृष्णपक्ष तथा शुक्लपक्षको एकादशीमा खाँदैन थिए । यस्तै तरहले रहँदा बस्दा कुनै समयमा फागुन शुक्लपक्षमा पर्ने आमलकी नामले पुकारिने पुण्यैपुण्यले भरिएको द्वादशीविद्ध आमलकी एकादशी आयो ।
त्यो एकादशीमा बालक देखी वृद्धसम्म सबै जनताले नियम पुर्वक उपवास गरे । ठूलो फल दिने जानेर सबैले नदीको जलमा स्नान गरे ।
त्यही नदी तटमा रहेको अमलामो रुख पनि थियो र राजा,प्रजा सबै सँगै गए । त्यहाँ छाता जुत्ता सहितको पूर्णकुम्भ कलश थापेर पूजा गरे ।
त्यहाँ त्यसरी पूजा गरेर सबै जना आआफ्नो भक्ति अनुसार जाग्राम गरिरहेका थिए । यहि समयमा नै त्यहाँ यौटा व्यधा आईपुग्यो ।
त्यो व्यधा भोक,प्यास र थकाईले व्याकुल र पीडित थियो । प्रजा र राजाहरुले पूजा गरेर जाग्राम गरिरहेको उक्त स्थानमा आएर मानिसहरुले पढिरहेको विष्णुको कथा पनि सुन्यो र रातभर जाग्राम बस्यो ।
विहान भएपछि त्यहाँ आएका जनहरु सबै आफ्नो घर गए र त्यो व्यधा पनि आफ्नो घर गयो र खाना खायो ।
धेरै समय पछि त्यो व्याधाले देह त्याग गर्यो । एकादशीको कथा सुनेको हुनाले र रातभर जाग्राम बसेको हुनाले अर्को जन्ममा चतुरङ्गिणी सेनाले युक्त ठूलो राज्य पायो ।
त्यस राज्यको राजधानी जयन्ती नगर थियो । त्यहाँ विदूरथ नाम गरेका राजाले राज्य गर्दथे । केही समय पछि वसुरथ नामको छोरो पायो ।
त्यो वसुरथ तेजले सूर्य समान र कान्तिले चन्द्रमा समान प्रभा भएको राजा भयो । अनि पराक्रममा विष्णु बराबर र क्षमा गर्नमा पृथ्वी समान थियो । बिष्णुको भक्त,ईश्वरमा श्रद्धा राख्नेवाला राजा थियो ।
एकदिन वसुरथ राजा शिकार खेल्न जंगल गएका थिए भुलबस बाटो बिर्सिए र डाकाहरुको चंगुलमा परे । हातहतियार सहितका डाकाहरूले उसलाई मार्ने तयारी गर्न थाले ।
उसलाई विभिन्न हतियारले डाकाहरुले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केहि चोट पुर्याउन सकेन । अझ शस्त्रहरु प्रहार गर्न थाले तर डाकाहरूको प्रहारबाट आफूमा कुनै असर नपरे पछि उसलाई अचम्म लाग्यो ।
अझ पछि त डाकाहरू उसलाई आक्रमण गर्न छाडेर आफू आफूमै झगडा र आक्रमण गर्न थाले । त्यहिबेला एक अलौकिक शक्ति प्रकट भयो र उक्त शक्तिका कारण सबै डाकाको मृत्यू भयो ।
उसले अलौकिक शक्तिसँग सोध्यो, मेरो रक्षा गर्ने को हो ? जवाफमा पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तेरो रक्षा भगवान् बिष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो ।
यस्तो कुरा सुनेर उ सारै विष्णु भगवान् प्रति झन धेरै कृतज्ञ बन्यो र सदा लागि विष्णुभक्त भई समर्पित बनेको पौराणिक कथामा रहेको कुरा वशिष्ठले सुनाउनु भयो र वशिष्ठले भन्नुभयो जो उत्तम मनुष्यहरु आमलकीको व्रत गर्दछन्,ती जनहरु मरेपछि सरासर वैष्णव लोकमा जान्छन् ।
यसै कथाका आधारमा अहिले पनि आमलकी एकादशीको व्रतको प्रभाव र महत्व जाज्वल्य रहेको छ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया