गगनको प्रस्तावमा समर्थन गर्दै रावलले भने-महामारीबाट जुध्न सिंगो राष्ट्रलाई एकताबद्ध बनाउने प्रस्ताव छ, पूर्ण समर्थन गर्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद भिम रावलले कोरोनाले मानिसहरूलाई आतंकित हुने अवस्था सिर्जना हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा रावलले उक्त प्रस्तावलाई समर्थन गर्दै त्यस्तो बताएका हुन् ।

रावलले नेपाल भारत खुला सीमाबाट कोरोनाको संक्रमणबाट बच्नको लागि अस्पताल र उपचारको उचित तयारी र पूर्णप्रबन्ध मिलाउन सरकारसँग प्रस्ताव गरेका छन् ।

रावलले आपूर्ति सम्बन्धमा जनतालाई ढुक्क बनाउन सरकारको ध्यानाकषर्ण गराए । अत्याधिक चासोको विषयमा कोरोनाको भाइरसबाट जनताको ज्यानको सुरक्षा कसरी गर्ने भन्ने प्रस्ताव पेश गरेको भन्दै समर्थन जनाएका हुन् ।

‘कोरोनाको संक्रमणबाट बच्न नेपालमा साझा अभियानको रूपमा अगाडि बढाउन संकल्प गरिएको छ । महामारीबाट जुध्न सिंगो राष्ट्रलाई एकताबद्ध बनाउने प्रस्ताव गरिएको छ, यसलाई पूर्ण समर्थन गर्छु,’ रावलले भने ।

यसअघि नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विभिन्न सरकारी निकायका फरक–फरक सूचनाले नागरिक त्रसित बनेको भन्दै कोरोनाका सम्बन्धमा सरकारले एउटै प्लेटफर्मबाट सूचना प्रवाह गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?