कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भारत नजान आग्रह

कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान आग्रह गरेको हो ।

नगर विपद् व्यवस्थापन समिति टीकापुरको आज बसेको बैठकले भारतमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक किनमेलका लागि भारत नजान आग्रह गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । “भारतमा सङ्क्रमण देखिएकाले नेपालमा सर्न सक्ने जोखिम बढेको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँ बढी जोखिम छ”, रावलले भने, “त्यसकारण सामान्य किनमेल जस्ता कार्यका लागि भारत नजान आग्रह गरेका हौँ । अब नगरवासीलाई सार्वजनिक सूचना र माइकिङ गरेर सचेत गर्न थालेका छौँ ।”

नगरपालिकाले बजारमा मास्कलगायतका सामान अभाव देखिएकाले बजार अनुगनम गर्ने र टीकापुरका सबै विद्यालयमा सचेतना कार्यक्रम गर्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाले सङ्क्रमणको जोखिम देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन र आइसोलेसनका लागि पनि पूर्वतयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?