चिया कति लाभकारी कति हानिकारक ? डा. विष्टका यस्ता सुझाव

डा. महेन्द्रबहादुर विष्ट
पूर्व महानिर्देशक, स्वास्थ्यसेवा विभाग

चियाको चलन इसापूर्व २७३७ सालमा चीनबाट भयो र क्रमशः संसारभरि फैलियो । त्यसपछि सुस्वास्थ्यका लागि औषधीय पेयका रुपमा यसको उपभोग हुनथाल्यो । कालान्तरमा धार्मिक तथा सांस्कृतिक परम्परा र अतिथि सत्कारको शिष्टाचारको रुपमा पनि चिया पिलाउने परम्पराको रुप लियो ।

जापानले छैठौ शताब्दीमा र बेलायतले १७ औँ शताब्दीमा चियाको प्रचलन भित्य्राए । त्यसपछि आफ्ना उपनिवेशहरूमा उत्पादन र उपभोग विस्तार गर्ने क्रममा ब्रिटिशहरूले नै भारतमा चियाको उत्पादन र ब्यापार सुरु गरे । उनीहरूले भारतीयहरूलाई चियामा लत् बसाल्न दूध र चिनीको उपयोग गरेर रेल चढेका यात्रुलाई सित्थैमा चिया पिलाउने काम पनि गरे ।

नेपालीहरूले भारतबाट चिया पिउने चलन भित्य्राए । त्यसैले हामी चिया भनेपछि ब्रिटिश चिया कम्पनीहरूले भारतमा सुरु गरेको दूध र चिनी हालेको परम्परागत पेय (मात्र) ठान्दछौँ । जङ्गबहादुर राणाका पालामा ब्रिटिशहरूले उपहार दिएका करिब डेडसय चियाका बिरुवा इलामतिर रोपेर नेपालमा चिया खेती हुनथाल्यो भने त्यसैबेलादेखि चियाको चलन बिस्तारै नेपालमा चल्न थालेको हो ।

विश्वमा आजकाल हजारौँ किसिमका चिया उपभोक्ता बजारमा पाइन्छन् । कम प्रोसेस गरिएको खाटी चिया जसलाई ‘ह्वाइट टी’ भनिन्छ, लगायत ताजापन र उत्पत्तिगत स्वरुपलाई नबिगारी त्यसमा आवश्यकताअनुसार अनेक पूmल र फलका बासना मिलाइएको एलर्जी, गठिया (जोर्नी दुख्ने), खराब कोलेस्टोरल नियन्त्रण, पेट र मुटुका समस्यामा लाभदायी ‘ग्रीन टी’, अनुहारको चाउरी, टाटा आदि बुढ््यौलीका चिन्ह दूर गरिदिने चाइनिज टी अर्थात ‘उलोङ् टी’, क्यान्सर प्रतिरोध र मुटुको रोग रोक्नको लागि उत्तम मानिएको प्रोसेस गरेर विशेष किसिमले बनाइएको दूध नहाली पिइने ‘सीटीसी’ चिया अर्थात ‘ब्ल्याक टी’, जडिबुटी (हरू) बाट बनाइएको पेय ‘हर्बल टी’, ‘रूइबस’ भनिने दक्षिण अफ्रिकी रातो वनस्पतिबाट बनेको ‘रूइबस टी’, आदि धेरै किसिमका चियाको रुपमा पेय पदार्थ बजारमा पाइन्छन् । नेपालमा प्रतिकिलोग्राम १२ हजार रुपैयाँसम्मका चिया पाइन्छ । कपको पानीमा चोपेर पिइने थैली–चिया (टी ब्याग) भन्दा खुला प्रक्रियाको रुपमा बनाइएको चियापत्तीमा बढी एन्टीअक्सिडेन्ट हुन्छ भन्छन् अनुसन्धाता वैज्ञानिकहरू ।

यसबाहेक ‘गुडुची चिया’, ‘याकोन’ नामक ‘भुईँ स्याउ’ (ग्राउन्ड एपल) को पात, स्टेभिया नामक गुलियो वनस्पतीको पात, तुलसी र ‘गानोडर्मा’ नामक एक प्रकारको ‘काठे च्याउ’ मिलाएर बनाइएको ‘याकोन टी’ पनि नेपालको बजारमा उपलब्ध छ । अनिद्रा, उच्चरक्तचाप, मधुमेहलगायतका अनेक समस्या भएकाहरूको स्वास्थ्यका लागि याकोन टी उपयोगी पेय मानिएको छ । स्वास्थ्यको लागि ब्लाक टी वा ग्रीन टी उत्तिकै लाभदायक भएको वैज्ञानिक प्रमाण क्यालिफोर्निया विश्वविद्यालयले सन् २००२ मा गरेको एउटा अनुसन्धानबाट पाइएको छ । एक कप ब्लाक टी वा ग्रीन टीमा खान लागिएको एक भाग ब्रोकाउली वा गाजर वा सागमाभन्दा बढी एन्टिअक्सिडेन्टको मात्रा हुन्छ ।

राम्रोसँग बनाइएको चियामा दूध र चिनीजस्ता चिज हाल्नु जरुरी त छैन नै, दूध र चिनीको मिश्रणले गर्दा चियाले एसिडिटी (अम्लपित्त), ग्यास्ट्रिक लगायतका पेटका अनेक समस्या पैदा गरिदिन्छ । तर गुणस्तरीय ब्लाक टी वा ग्रीन टीले तनाब कम गरी मानसिक शान्ति दिन्छ । टाउको दुखेको अवस्थामा पनि ब्लाक टीले औषधीको काम गर्छ । ब्लाक टीमा हुने एमिनो एसिड नामक तत्वले दिमागको सक्रियता बढाएर सहज अवस्था बन्न सहयोग पु¥याउँछ । सिक्ने र सिकाउने दक्षता अभिवृद्धि गर्छ । चियामा हुने ‘पालीफेनाल्स्’ नामक तत्व आक्रामक जिवाणु (ब्याक्टेरिया) सँग लड्ने, शरीरको रोग प्रतिरोध क्षमता बढाउने, शरीरको प्रतिरक्षा (इम्युन) प्रणाली मजबुत बनाउने, हड्डी मजबुत बनाउने, संक्रमणसँग लड्ने र शरीरलाई जोगाउने हुनाले चियाले पूरा नभए पनि आंशिक रुपमा एन्टिबायोटिकको काम पनि गर्छ । अध्ययनबाट के बुझिन्छ भने ब्लाक टी उपभोग गर्ने मानिसका हड्डीमा खनिजतत्वको मात्रा धेरै पाइएको छ । चियामा फ्लोराईड तत्व पाइने हुँदा दाँते फोहोर हटाउनका साथै दाँतका अन्य बिमारमा पनि ब्लाक टीले फाइदा पुर्याउने हुँदा गुणस्तरीय तथा बच्चाको कतिपय टुथपेस्टमा चियाको मात्रा मिलाइएको हुन्छ ।

नेदरल्याण्ड्स्स्थित ‘नेशनल इन्स्टिच्यूट अफ पब्लिक हेल्थ एन्ड इभायरोन्मेन्ट’ ले लामो समय लगाएर गरेको एउटा अनुसन्धानअनुसार चियामा ‘एन्टीअक्सिडेन्ट’ तत्व हुन्छ जो मुटुको लागि अत्यन्त उपयोगी हुन्छ । कालो चियाले हानीकारक कोलेस्टोरल कम गरी मुटु र रक्तसञ्चारमा सुविस्ता दिने हुँदा उच्चरक्तचाप पनि नियन्त्रणमा रहन्छ । यसप्रकार कालो चियाको नियमित सेवनबाट हृदयाघातको जोखिम पनि कम हुन्छ । यस्ता विविध अध्ययन–अनुसन्धान चीनमा पनि भएका छन् र समान निष्कर्ष पाएको देखिन्छ ।

बेलायतको ‘न्युट्रिसन बुलेटिन’ मा प्रकाशित भएको एक अनुसन्धानअनुसार हृदयरोगमा चियाको उपयोगितालाई जाँच्दा दैनिक ३ देखि ६ कपसम्म कालो चिया पिउने मानिसमा चिया नपिउनेको तुलनामा हृदयरोगको सम्भावना ३० देखि ६० प्रतिशतसम्म कम हुन्छ । यस्तै खालको अध्ययन र निष्कर्ष कोलकातास्थित विवेकानन्द इन्स्टिच्यूटले पनि बनाएको छ ।

कालो चियाले मधुमेह (डाइबिटिज) रोगमा पनि राहत दिन्छ । एउटा डच अनुसन्धान कार्यक्रममा संलग्न डा. केरी रक्स्टनका अनुसार १० वर्षसम्म करिब ४० हजार मानिसउपर अध्ययन गर्दा दिनहूँ ३ कप उच्च गुणस्तरीय कालो चिया पिउने मानिसलाई दोस्रो टाइपको मधुमेहको जोखिम ४२ प्रतिशतले घटाएको पाइयो । इटलीको लाक्किला विश्वविद्यालयको ताजा अनुसन्धानमा कालो चिया सेवनले रक्तनलिकाको सक्रियतामा सुधार हुन्छ । यसले गर्दा धमनीको कठोरता कम हुने र लचिलोपनमा बृद्धि हुनाले मुटुको अवस्था एकदम राम्रो हुनपाउँछ । ब्रिटिश पोषणविज्ञ (न्युट्रिसिस्ट) हरूको वैज्ञानिक दाबी छ, दिनमा ४ पटक कालो चिया पिउने महिलाको शरीरमा हृदयरोग बढाउने तत्व ‘अर्थेरोलरोसिस’ नगन्य हुन्छ र मुटुसम्बन्धी कार्यप्रणालीलाई मजबुत बनाउने तत्व ‘फ्लेबोनाइड्स्’ कालो चियामा धेरै पाइने हुनाले हृदयघात कम हुन्छ ।

कालो चियाले हाम्रो जिउँदो र सक्रिय भइरहनु पर्ने कोशिका (सेल) हरूलाई मर्न नदिएर बचाइराख्ने हुनाले डीएन्एलाई खराब हुनबाट जोगाउँछ भन्ने पनि एउटा अनुसन्धानको निष्कर्ष हो । डीएन्एमा उत्पन्न असन्तुलन र खराबी भएमा क्यान्सर समेत हुनसक्छ ।

उपरोक्त वैज्ञानिक अनुसन्धान र विश्लेषणका आधारमा चिकित्सकहरूले दिनहूँ ३ कप कालो चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुने सल्लाह दिएका छन् । चियापत्तीका नाममा बजारमा गुणस्तरहिन र मिसावटयुक्त ‘चियापत्ती’ पनि बेचिन्छ । यस्तो चियापत्तीबाट बच्नु पनि उत्तिकै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?