राजनीतिक दलहरुले कोरोना संक्रमण विरुद्धको जोखिम न्यूनीकरणका लागि एकिकृत कार्ययोजना बनाई अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको सर्वदलिय छलफलमा राजनीतिक दलहरुले कोरोना संक्रमण बारेको सूचना सम्प्रेषण, अस्पतालहरुमा गर्नुपर्ने आवश्यक तयारी, हवाई र स्थल मार्गमा अपनाउनुपर्ने सावधानी, विदेशबाट आएका नागरिकको ट्रेस, प्रभावित बन्दै गएको मुलुकको अर्थव्यवस्थालाई गर्नुपर्ने सम्बोधन लगायत विषयलाई एकिकृत कार्ययोजना मार्फत सम्बोधन गर्न सुझाव दिएका हुन् । कार्यदल बनेपछि एकीकृत कार्ययोजना बनाएपछि पनि बहुकेन्द्रबाट सूचना सम्प्रेषण हुनुको अर्थ नरहेको भन्दै दलहरुले एकद्धार प्रणालीबाट सूचना सम्प्रेषण गर्न सुझाव दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले हवाईमार्गबाट आउने अतिसंक्रमित र जोखिमका देशहरुबाट आएकालाई रोग नभएको प्रमाण पत्रलाई मात्रै आधार नमानेर कम्तिमा १४ दिन क्वारेन्टायनमा बस्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको बताउनुभयो । त्यसैगरी बाहिरबाट आएका नागरिकको भेटघाट तथा बसाईको ट्रेस गर्न, अस्पतालमा आधारित तयारी गर्न, सरकारी अस्पतालको क्षमता बढाउन, नीजी क्षेत्रसंग पनि साझेदारी गर्न र प्रदेशमा पनि आवश्यक तयारी गर्न आफुहरुले दिएको सुझावलाई सरकारले सकारात्मक लिएको जानकारी दिनुभयो । नेता थापाका अनुसार सरकारले अब देखि कोरोना संक्रमण बारे स्वास्थ्य सम्बन्धी सूचना स्वास्थ्य मन्त्रालयबाट र बाँकी सूचना सरकारका प्रवक्ता बाट मात्रै दिने गरि ‘बहुकेन्द्रको’ अभ्यासलाई बन्द गर्ने जनाएको छ ।
सर्वदलिय बैठकमा सरकारले कोरोना संक्रमणले पारेको अर्थतन्त्रको प्रभाव सम्बोधन गर्न केही दिन भित्र नया प्याकेज ल्याउने प्रतिवद्धता पनि जनाएको छ । बैठकमा आपूर्ति व्यवस्थाका बारेमा तत्काल आत्तिनुपर्ने अवस्था नरहेको र सरकारकै नियन्त्रणमा रहेको जानकारी गराईएको थियो । तर पर्यटन लगायत क्षेत्रमा परेको प्रभावका बारेमा अध्ययन भईरहेकाले केही दिन भित्र प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने गरि नयाँ प्याकेज ल्याउने आश्वासन सरकारले दिएको छ ।
थापाले भन्नुभयो “ अर्थतन्त्रको सन्दर्भमा भारतसग ठूलो व्यापार भएका कारणले तात्कालिक प्रभाव पर्यटन र अन्य केही क्षेत्रमा परेको छ । अहिले सम्म आत्तिहाल्नुपर्ने अवस्था नरहेको र प्रभाव देखिन थालेकाले त्यसको अनुगमन गरेर केही दिन भित्र नयाँ प्याकेज ल्याउछौ भन्नुभएको छ । हामी संसदमा प्रतिक्षा गर्छौ । ”
बैठक पछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बैठकमा उच्चस्तरीय समन्वय समितिले अहिले सम्म गरेका कामलाई राजनीतिक पार्टीहरुले सकारात्मक रहेको र सरकारका कामलाई धन्यवाद दिदै केही सुझाव पनि दिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुलाई सुदृढ बनाउने, सरोकारित निकायबीच समन्वयात्मक ढंगले काम गर्दे सूचना सम्प्रेषण गर्नुपर्ने दलहरुको सुझावलाई सरकारले सकारात्मक लिएको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताएसंग सरकारले कोरोना संक्रमणबाट जोगिनका लागि उच्च सर्तकता अपनाउका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय समन्वय समितिले सरकारबाट भईरहेका काम र गर्नुपर्ने तयारीबारे बुधबार दलहरुसंग छलफल गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया